काठमाडौं। विश्वका केही देशहरूमा पुनः कोभिड सङ्क्रमण बढिरहेको अवस्थामा नेपालमा भने संक्रमणको अवस्था स्थिर रहेको छ। खागसरि युरोपियन दशेहरुमा नयाँ भेरियन्टको संक्रमण तीव्र गतिमा बढिरहँदा नेपाल भित्रिने नागरिकहरूले संक्रमण फैलाउन सक्छन् कि भनेर सचेत हुनुपर्ने अवस्था भने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जसकारण विदेशबाट आउनेका लागि कडाइ जारी छ। तेस्रो मुलुकबाट नेपाल आउँदा हरेकलाई ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिर्पाेट अनिवार्य चाहिने व्यवस्था गरिएको छ। त्यस्तै कोभिडविरुद्धको पूर्ण मात्रा डोज लगाएर १४ दिन कटेको प्रमाण पनि देखाउनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए।
कोभिड–१९ को नयाँ भेरिअन्ट संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरूको आवागमनलाई व्यवस्थित गरिएको छ। ‘संक्रामक रोग ऐन, २०२० को दफा २’ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको १४ दिन पूरा भएको प्रमाण र उडान हुनुभन्दा ७२ घण्टा पहिलेको पीसीआर नेगेटिभ रिपोर्ट प्रमाण पेस गर्नुपर्ने’ प्रावधान कडाइका साथ लागु गरिएको छ।
नेपाल घुम्न आउनेले १० दिन क्वारेनटिन बस्नुपर्ने
त्यस्तै नेपाल भ्रमणमा आएका विदेशी नागरीहरूका लागि १० दिन अनिवार्य होटेल क्वारेनटिन बस्नुपर्ने छ। उनीहरु आफ्नै खर्चमा बस्नुपर्ने छ। एघारौँ दिनमा पुन कोभिड १९ को परीक्षण हुनेछ। रिपोर्ट नेगेटिभ आएपछि मात्र नेपाल भ्रमण गर्न पाउने व्यवस्था छ। कोरोना कालदेखि नै तेस्रो मुलुकबाट नेपाल आउनेहरूका लागि भनेर केही मापदण्डहरू छुट्टाइएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझाले जानकारी दिए।
कोभिड र अरू जस्ता सरुवा रोगहरू फैलिरहेको अवस्थामा एक देशबाट अर्को देशसम्म नफैलियोस् भनेर हरेक देशको मुख्य स्थलमार्ग तथा हवाईमार्गमा कडाइ गरिएको हुन्छ। सोहीअनुरूप नेपालले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ जारी राखेको छ। महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा ओझा भन्छन् ‘‘नेपाल सरकारले कोभिड काल देखिनै देशबाहिर रहेका नेपालीहरूलाई ल्याउँदा होस् वा देश भित्र रहेका पर्यटकहरूलाई पठाउँदा होस् त्यही अनुसारको मापदण्ड बनाउँदै कोभिड रोकथाममा प्रभावकारी भूमिका खेलिरहेको छ।”
पैसा नहुनेहरूको क्वारेनटाइन खर्च सरकारले बेर्हाेर्ने
त्रिभुवन विमानस्थल हुँदै धेरै विदेशी र नेपालीहरू स्वदेश आउने भएकाले सङ्क्रमण फैलिने धेरै सम्भावना छ। चेकजाँचको लागि करिब ४० जना स्वास्थ्यकर्मी र अन्य कर्मचारी विमानस्थलमा खटाइएको महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा ओझा बताउँछन्। कोभिड महामारी कायमै रहेकाले त्रिभुवन विमानस्थलबाट आउनेलाई पूर्ण मात्र खोप लगाएको प्रमाण र ७२ घण्टा अगाडि पीसीआर गरेर नेगेटिभ रिपोर्ट आएको पत्र अनिवार्य गरेको उनले बताए।
‘‘गैरआवसीय नेपाली, कामदार, घुम्न वा पढ्न गएका विद्यार्थीहरू जो भए पनि उनीहरूले कोभिडविरुद्धको पूर्ण मात्र खोप लगाएको १४ दिन पुगिसकेको प्रमाण र ७२ घण्टा अगाडि पीसीआर गरेर नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्र घर पठाइने व्यवस्था छ,’’ उनले भने। मृत्यु संस्कारमा नेपाल आएका र बालबालिकाहरूलाई भने अरू केही नगरी एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि घर पठाइने गरिएको छ।
डा.ओझाका अनुसार पूर्ण खोप नलगाएकाहरूलाई सात दिनसम्म होटेलमा क्वारेनटाइन बस्न अनुरोध गरिन्छ। पहिले जसरी होटेलमा बस्दा सरकाले नै खर्च भने अहिले बेहोरेको छैन। स्वयम् व्यक्तिले नै खर्च बेहोर्नु पर्छ। तर, कोही खर्च नै नभएर वा जेलबाट छुटेर आएकाहरूको हकमा भने सरकारले नै खर्च बेहोरिरहेको छ।
युरोपमा फैलिरहेको संक्रमणबाट बच्न चुनौती
विश्वका केही देशहरूमा पुनः तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्टबाट नेपाल आउने नागरिकहरूलाई बचाउन चुनौतीपूर्ण रहेको देखिन्छ। यसको लागि के गर्ने भनेर उच्चस्तरीय बैठक बसेर केही निर्णय लिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा ओझा भन्छन् ‘‘विश्वका पाँच देशमा सङ्क्रमण पुनः तीव्र गतिमा बढिरहेका कारण त्यस देशबाट नेपाल आउने व्यक्तिहरूका लागि क्वारेनटाइन राख्ने कि पीसीआर नै गर्ने भनेर छलफल भइरहेको छ। यस शाखाले नयाँ भेरिअन्ट नआओस् भन्नाका लागि काम गिरहेको छ।”
हवाई र स्थल मार्ग हुँदै आएका व्यक्तिहरूमा कोरोना पोजेटिभ भेटिए उनीहरूको नमुना सङ्कलन अणुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षण हुनेछ। यसरी जीन सिक्वेन्सिङ मार्फत गरिने परीक्षणमा भने अहिलेसम्म नयाँ भेरिअन्ट नेपालमा देखिएको छैन।