एजेन्सी। विश्वका दुई ठूला कार्बन उत्सर्जन गर्ने देश अमेरिका र चीन जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सहकार्य गर्न तयार भएका छन्। स्कटल्याण्डको ग्लास्गोमा आयोजना भइरहेको कोप-२६ का दौरान दुई देशका अधिकारी सहकार्य गर्न तयार भएका हुन्।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मेलनमा उपस्थित नभएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति बाराक ओबामाले समेत चीनको आलोचना गरेका थिए।

कोप-२६ सम्मेलन अन्त्यतिर आइपुग्दै गर्दा अमेरिका र चीनबीच भएको यस प्रकारको सहमतिले सबैलाई आश्चर्यमा पारेको छ। दुवै देशले एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै जलवायु परिवर्तनका सम्बन्धमा सहकार्य गर्ने बताएका हुन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामीले संयुक्त रुपमा काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउन चाहन्छौँ।’ दुवै देशले २०१५ को पेरिस सम्झौतामा विश्वको तापक्रम १ दशमलव ५ डिग्री कायम गर्ने दिशामा काम गर्ने बताएका थिए। दुवै देशले आफ्नो सोही प्रतिबद्धतालाई फेरि दोहोर्‍याएका हुन्।

यस्तै दुवै देशले आफूले लिएको लक्ष्य हाँसिल गर्ने दिशामा आइपर्ने व्यवधान समाधान गर्न काम गर्ने बताएका छन्। लक्ष्य र उपलब्धीबीचको ‘असमानता हटाउन’ काम गर्ने बताएका छन्।

वैज्ञानिकहरुले विश्व तापमानलाई १ दशमलव ५ डिग्रीमा कायम गर्न सक्दा त्यो मानव जातिका लागि अत्यन्तै लाभदायक हुने बताउने गरेका छन्। तापमान घटाउन सकेको अवस्थामा त्यसले जलवायु परिवर्तनमा पारेको असरलाई न्यूनीकरण गर्ने वैज्ञानिकहरुको विश्वास छ। १ दशमलव ५ डिग्रीलाई विश्व औद्योगिकिकरण अघिको तापमान भएको विश्वास गरिन्छ।

२०१५ को पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा विश्व नेताहरुले विश्व तापमानलाई १ दशमलव ५ देखि २ डिग्रि सेल्सियसमा राख्ने प्रतिबद्धता गरेका थिए। आफूले लिएको लक्ष्य प्राप्त गर्न कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा पनि नेताहरु एक ठाउँ उभिएका थिए।

चीनको जलवायु परितर्वनसम्बन्धी प्रमुख वार्ताकार झे झिनहुआले पत्रकारमाझ भने, ‘‘जलवायु परिवर्तनका मुद्दामा चीन र अमेरिकाबीच असमानभन्दा बढी समान मत छ।’’

यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच अर्को हप्ताको शुरुवातमा भर्चुअल वार्ता हुने सम्भावना रहेको बताइएको छ। यी दुई देश विश्वका अन्य मुद्दामा एकअर्काका प्रतिस्पर्धी हुन्।

अमेरिका र चीनबीच संयुक्त विज्ञप्ति दुर्लभै हुने गरेपनि बुधबार दुवै देशले जलवायु परिवर्तनमा सहकार्य गर्ने विषयमा संयुक्त विज्ञप्ति प्रकाशित गरेका हुन्। विज्ञप्तिमा मिथेन उत्सर्जन, स्वच्छ उर्जा र कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा सहमति जनाइएको छ।

यद्यपि, यो हप्ताको शुरुमा चीनले मिथेन उत्सर्जनका विषयमा सम्झौता नगर्ने बताएको थियो। मिथेन जलववायु परिवर्तनका लागि एक मुख्य कारक हो। उक्त सम्झौतामा सयभन्दा बढी देशले हस्ताक्षर गरेका थिए। चीनले मिथेन उत्सर्जन कम गर्न ‘राष्ट्रिय योजना’ बनाउने बताएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय