काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर-३०, ज्ञानेश्वरका वडा सदस्य मनोज डंगोलले केही दिन पहिले आफ्नो वडामा डेंगु फैलिएको खबर पाएपछि टोल टोलमा संक्रमण रोकथामका लागि लामखुट्टे मार्ने विषादी छर्किए।

त्यसको एक दुई दिनमा उनलाई नै ज्वरो आउँने, टाउको, आँखा र शरीरका जोर्नीहरू दुख्न थाल्यो। लक्षण देखिएको तीन दिनपछि नजिकैको एपोलो क्लिनिकमा पुगे। उनलाई डेंगु संक्रमण भएको पुष्टि भयो।

डंगोल भन्छन्, “पहिले हाम्रो वडामा यसरी डेंगु फैलिएको थाहा नै थिएन। भदौदेखि फाट्टफुट्ट बिरामी देखिइरहेका रहेछन् तर यो दशैं र तिहारको बीचमा अलि बढी नै बिरामी भेटिएपछि हामी सबै मिलेर टोलटोलमा जनचेतना मुलक कार्यक्रम गर्दै थियौं। तर म आफै डेंगु संक्रमित हुन पुगेँ।”

अहिले उनलाई ज्वरो आउन छोडे पनि शरीरमा कमजोरी भने रहिरहेको बताए।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले पनि ज्ञानेश्वर, मैतीदेवी र घट्टेकुलो गरी महानगरका २९ र ३० वडामा डेंगु फैलिएको स्वीकार गरे।

दुई वटा वडाका बासिन्दामा डेंगु संक्रमण फैलिरहेको र उनीहरू आफ्नै तरिकाले नजिकै रहेका क्लिनिकमा जाँच गराउन गएको खबर आएको उनले बताए।

“पहिलेदेखि डेंगु फैलिरहेको रहेछ, हामीलाई दशैं र तिहारको बीचमा मात्र थाहा भयो। त्यसपछि हामीले दुवै वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग मिलेर चार दिन जति डेंगु सम्भावित क्षेत्रमा ‘सर्च एण्ड नष्ट’ र जनचेतना मुलक कार्यक्रम गर्‍यौंं। तर यी दुई वडामा डेंगु फैलाउने लामखुट्टे बस्ने सम्भावित क्षेत्र भने पत्ता लगाउनै सकेनौं”, उनले भने।

डेंगुको स्रोत भेटाउन नसकेकाले स्थानीय बासिन्दालाई सुत्दा झुल लगाउने, झ्याल ढोका बन्द गरेर र डेंगु संक्रमित बनाउँन सक्ने लाम्खुट्टेको टोकाइबाट बच्न महानगरपालिकाले जनचेतनामुलक सन्देश दिइरहेको उनले बताए।

कुँवरले अहिलेसम्म डेंगुका तीन जनामात्र बिरामी अस्पताल भर्ना हुनु परेको खबर प्राप्त भएको समेत सुनाए। भने, “कसले कहाँ-कहाँ उपचार सेवा लिए भन्ने थाहा भएन तर हामीले आफ्नो तर्फबाट गर्ने भनेको सचेतनामुलक कार्यक्रममात्र हो। उपचार त सरुवा रोग अस्पतालले गर्ने हो।”

वडा नं २९ का वडाध्यक्ष कुश ढकालले भने डेंगु नियन्त्रणमा आइसकेको दाबी गरे।

“१५-२० दिन पहिले हाम्रो वडामा डेंगु देखिए पनि अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। हामीले कसरी डेंगु फैलियो त भनेर खोज पनि गरेका थियौं, त्यस्तो केहि फेला परेन”, उनले भने, “रोकथामका लागि हामीले गर्ने भनेको सफा पानी जम्न नदिने र ज्वरो आयो भने सिटामोल खानु भन्ने हो। त्यो हामीले गरिरहेका छौं”, उनले भने।

मैतीदेवीस्थित ‘एपोलो पोलिक्लिनिक’का सञ्चालक लालिकुमार श्रेष्ठका अनुसार भदौदेखि डेंगुको संक्रमण देखिन थालेको हो। भदौको अन्तिम सातादेखि डेंगुका लक्षण रहेको बिरामी आउन थालेको उनले बताए।

दशैं र तिहारको बीचमा भने लक्षण देखिएका ३०, ३५ जनामध्ये एक, दुई जना बाहेक सबैमा डेंगु पुष्टि हुने गरेको उनले सुनाए। उक्त पोलिक्लिनिकमा आउनेमध्ये धेरैजसो मैतीदेवी, ज्ञानेश्वर र घट्टेकुलो क्षेत्रका बासिन्दा रहेका उनले जानकारी दिए।

भदौदेखि ६ सय बिरामी पोलिक्लिनिकमा आएको र तीमध्ये पाँच सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको तथ्यांक छ।

“डेंगु पुष्टि भएका मध्ये पाँच, ६ जना मात्र अस्पताल भर्ना हुन परेको छ। ९८ प्रतिशत त निको भइसकेका छन्”, उनले बताए।

जाँच गराउन आएका मध्ये धेरैमा प्लेट्लेट्स कम देखिएको क्लिनिकमा कार्यरत ल्याब असिस्टेन्ट सुजाता श्रेष्ठले बताइन्।

सरकारी क्षेत्रले नै गर्‍यो बेवास्ता

टेकु अस्पतालका डाक्टर शेर बहादुर पुनले केही महीना पहिलादेखि नै आफूले काठमाडौंमा डेंगु फैलिन सक्छ भन्दै जनचेतना र सरकारी निकायको ध्यान जान्छ भनेर लेख नै प्रकाशित गर्दा पनि सरकारी निकायले ध्यान नदिएको गुनासो गरे।

डा. पुनले भने, “एक महीना पहिला नै घट्टेकुलमा बस्ने एक जनाले डेंगु पुष्टि भएपछि परामर्श लिनका लागि फोन गर्नु भएको थियो। तर मैले त्यो समयमा त्यहा डेंगु फैलिसकेको होला भनेर सोचिनँ। फेरि दशैंमा त्यही बस्ने एक जना जाँच गर्न अस्पताल आए। उनले परिवारका सबैमा आफैलाई जस्तो लक्षण देखिएको र छरछिमेकीहरू पनि अस्पताल भर्ना भएको जानकारी दिए। त्यसपछि मैले काठमाडौंमा डेंगु फैलियो भनेर लेख मार्फत् सरकारलाई केन्द्रित गर्न खोजे पनि सरकारले ध्यान नदिँदा व्यापकरूपमा फैलियो।”

यसअघि काठमाडौंका नयाँ बजार, स्वयम्भु, डल्लु क्षेत्रमा डेंगु बढी देखिएको उनले जानकारी दिए। मैतीदेवी क्षेत्रमा डेंगु देखिएको पहिलो घटना हुनसक्ने उनको आंकलन छ। यस क्षेत्रमा डेंगु कसरी फैलियो भन्ने आफ्नो लागि पनि जिज्ञासाको विषय भएको डा. पुनले बताए।

“डेंगु सार्ने लामखुट्टेको लागि तराई त स्वर्ग नै हो त्यहाँ जहिले पनि देखिन्छ सक्छ तर काठमाडौंको हकमा चाहिँ मनसुनपछि र दशैं तिहारपछि डेंगु बढ्न सक्ने सम्भावना पहिलेदेखि रहिआएको हो”, डा. पुनले भने।

टेकु अस्पतालमा दैनिकजसो डेंगुका तीन, चार जना बिरामी आउने गरेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय