एजेन्सी। कोभिड-१९ संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अमेरिकाले २० महीनापछि प्रतिबन्ध फुकुवा गर्दा विदेशी यात्रुहरु पहिलो पटक अमेरिका प्रवेश गरेका छन्।
अमेरिकाले सोमबार दुई मात्राको कोभिड खोप लगाएका व्यक्तिहरुलाई अमेरिका प्रवेश गर्न दिएको छ। योसँगै पूर्व अमेरिकी राष्ट्रपति डोनाड ट्रम्पले मार्च २०२० मा यात्रामा लगाएको प्रतिबन्ध फुकुवा भएको हो।
अमेरिकाले यात्रामा प्रतिबन्ध लगाउँदा करिब ३० देशका यात्रुहरु प्रभावित भएका थिए। प्रभावित हुने यात्रुहरुमा बेलायत, युरोपियन युनियन लगायतका देश पनि थिए।
अमेरिकाले विदेशीलाई यात्रा प्रतिबन्ध फुकुवा नगर्दा पारिवारिक मिलन हुन पाएको थिएन भने अमेरिकाको पर्यटन क्षेत्रमा पनि निकै असर पुगेको थियो। सोमबार निकै ठूलो संख्यामा विदेशीहरु अमेरिका प्रवेश गरेका छन्।
‘धेरै नै राम्रो लागि रहेको छ, धेरै नै राम्रो!’ पेरिसमा ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका जेरोम थोमनले भने। उनले आफ्नो एजेन्सीले अमेरिका यात्रा गर्ने धेरै मानिसको टिकट बुकिङ गरेको बताए।
पूर्ण रुपमा खोप लगाएका मानिसका लागि यात्रा प्रतिबन्ध खुला भएको छ। यद्यपि, अमेरिका प्रवेश गरेपछि उनीहरुको पुनः कोरोना परीक्षण भने भएको जनाइएको छ।
सोमबार लण्डनको हेथ्रु विमानस्थलबाट अमेरिकाको न्यूर्योक सिटीका लागि विमान उडेको थियो। यसरी विश्वकै अति व्यस्त विमान रुट फेरि सञ्चालनमा आएको हो।
अमेरिकाको जोन अफ क्यानेडी विमानस्थलमा आएका यात्रुहरुलाई बेलुन, फूलका गुच्छा र तालीसहित स्वागत गरिएको थियो।
न्यूर्योकले गत महीना तीव्र रुपमा प्रचार अभियानलाई सञ्चालन गरेको थियो। उनीहरुको प्रचार अभियानको प्रमुख उद्देश्य भनेको विदेशी यात्रुलाई अमेरिकामा फेरि स्वागत गर्नु थियो। यात्रा प्रतिबन्ध फुकुवासँगै अमेरिकाको पर्यटन व्यवसायले गति लिने विश्वास गरिएको छ। पर्यटन व्यवसाय सञ्चालनसँगै अमेरिकाको आम्दानीको स्रोत बढ्ने अनुमान गरिएको छ।
यात्रा प्रतिबन्धका कारण गैरअमेरिकी नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको थियो। प्रतिबन्धले बेलायत, युरोपियन युनियनसहित चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्राजिलका मानिसहरुले अमेरिका यात्रा गर्न पाएका थिएनन्।
नयाँ नियमअनुसार, अमेरिका यात्रा गर्नुअघि विदेशी नागरिकले भ्याक्सिन प्रयोग गरेको प्रमाण भने देखाउनुपर्ने छ। यस्तै उनीहरुले कोभिड परीक्षणमा नेगेटिभ आएको प्रमाण पनि देखाउनुपर्ने हुन्छ।
यात्राभन्दा तीन दिन अघि गरिएको परीक्षणलाई मात्रै मान्यता दिने अमेरिकाले जनाएको छ। यसरी अमेरिका प्रवेश गरेका मानिसहरु क्वारेन्टाइनमा भने बस्न नपर्ने बताइएको छ। यद्यपि, उनीहरुले आफ्नो सम्पर्क ठेगाना भने अध्यागमन विभागलाई बुझाउनुपर्ने हुन्छ।
एलिसन ह्यारी, ६३ वर्षीया महिलाले अमेरिकाले यात्रा प्रतिबन्ध लगाउँदा आफू निकै प्रभावित भएको बताइन्। ‘यात्रा प्रतिबन्धका कारण निकै गाह्रो भयो, म मेरो छोरालाई हेर्न चाहन्छु।’ उनले पछिल्लो २० महीनामा पहिलो पटक अमेरिका गएर आफ्नो छोरालाई भेट्न आतुर रहेको बताइन्।
यस्तै, अमेरिकाको जमिनी सीमा जोडिएका छिमेकी देश क्यानेडा र मेक्सिकोबाट पनि मानिसहरु अब अमेरिका प्रस्थान गर्न पाउने भएका छन्। यसरी अमेरिका जाने मानिसले पूर्ण रुपमा खोप भने लगाएको हुनुपर्ने बताइएको छ।
नयाँ नियमका कारण फाइदा लिन सकिने अनुमान सहित धेरै मानिस अमेरिका मेक्सिको सीमामा भेला भएको बताइएको छ।