काठमाडौं। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्।
बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वाभाविक भएको बताए।
नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरिरहेको उनको भनाइ थियो। राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए।
अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर सात रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा तीन रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने दाबी गरे। विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए।
“यो सरकारी संस्था हो, अस्वाभाविक हुँदैन, सबैचिज पारदर्शी नै हुन्छ, अस्वाभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वाभाविक हो, यो स्वाभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नैपर्दैन, बजारमा लिक्वीडिडी अभावको स्थिति हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटको स्थिति हेर्नुहोस्,” उनले तर्क दिए,” एक वर्षअघि कति मूल्य थियो आज कति छ हुर्नुहोस्, डबल मूल्य बढिसकेको छ, बैंकमा लिक्वीडिडीको अवस्था हेर्नुहोस्, यी सबै चिजले यसलाई अस्वाभाविक कसरी भन्ने ?”
यो विषय उपभोक्ता मारमा पर्ने भन्ने विषय नै नभएको उनको भनाइ थियो। तेल भनेको राजनीतिक कुरा नभएको र सार्वजनिक कुरा भएको उनले बताए।