काठमाडौं । खेलाडी र समर्थकलाई नाइँ भन्न नसकेर फर्किएको बताएका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल विकासका लागि योजना सार्वजनिक गरेका छन्।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीलाई नेपाली टिम प्रशिक्षकको रूपमा तीन वर्षका लागि सम्झौता गरेको आधिकारिक घोषणा पनि गरेको छ।
सम्झौतासम्बन्धी समाचार अलमुताइरी आफैले पहिला नै सार्वजनिक गरे पनि औपचारिक रुपमा एन्फाका प्रतिनिधि तथा नेपाली राष्ट्रिय फुटबल टिमका टिम म्यानेजर मधुसुदन उपाध्यायले यो बल्ल आधिकारिक भएको बताए।
नयाँ सम्झौताअनुसार अब अलमुताइरी सन् २०२४ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा रहनेछन्। अलमुताइरी भने, “नेपाली फुटबल समर्थकको मायाल म फर्केको हुँ।”
नेपाली फुटबल विकास गर्न तीन वटा आयोजना सुनाए
दोहामा एन्फा तथा कतार फुटबल संघको लामो छलफलपछि आगामी दिनमा नेपाली फुटबलको विकास गर्न अलमुताइरीले नेपाली टिमसँग मिलेर अबका दिनका लागि तीन प्रमुख योजना प्रस्तुत गरेका छन्।
जसमध्ये पहिलो हो, आउँदो एशियन कप २०२३ को छनोट प्रतियोगिता। सन् २०२३ मा चीनमा हुने एशियन कपका लागि तेस्रो तथा अन्तिम चरणका छनोट खेलहरू सन् २०२२ को जुनमा सञ्चालन हुँदै छ। छनोट प्रतियोगितामा सहभागी कुल २४ टिम छन्, जसमध्ये ११ टिमले एसियन कप खेल्न पाउनेछन्।
नेपालले हालसम्म एशियन कप फुटबल खेलेको छैन। यो पटक पनि नेपाल एशियन कपमा छनोट हुने सम्भावना कम रहेको अलमुताइरीले बताएका छन्। यति छोटो समयको तयारीमा यो पटक एशियन कपका छनोट हुन नसक्ने उनले बताए।
तर उनको प्रमुख लक्ष्य भने सन् २०२७ को एसियन कपका लागि नेपाललाई छनोट गराउने छ। जुन उनको राष्ट्रिय फुटबल टिमसँगको दोस्रो योजना हो। सन् २०२७ को एशियन कपका छनोट खेलहरू सन् २०२४ मा हुनेछ।
त्यसैगरी तेस्रो योजनाको रूपमा भने नेपालको सन् २०२६ को विश्वकप छनोटमा राम्रो प्रदर्शन गराउने बताए। क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने उक्त विश्वकपको छनोट खेल सन् २०२३ मा सञ्चालन हुनेछ।
साथै उनले लामो समयसम्म आफू यहाँ रहने र आफू खुसी हुन नसके बीचमै फर्किने चेतावनी पनि दिए। नयाँ सम्झौताअनुसार आफ्नो तलब वृद्धि भएको उनले जानकारी दिए। उनको तलब कतार फुटबल संघले सहयोगस्वरूप प्रदान गर्दै आएको छ। एन्फाले भने उनलाई भत्ताबापत रकम दिने गरेको छ।