काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरूलाई भारी छुट दिने सरकारको नीति भएको बताएका छन्।
शुक्रबार ललितपुरमा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादन वृद्धि गर्न कच्चा पदार्थमा आधारित उद्योगहरूलाई भारी छुट दिने नीति भएको बताएका हुन्।
उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने उनले बताए। मुलुकमा उत्पादन भइरहेको विद्युत् खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरूको स्थापना र भएका उद्योगहरूको सहज सञ्चालन आवश्यक रहेको उनले बताए।
मुलुकमा उत्पादन वृद्धि नभएसम्म व्यापार घाटा न्यूनीकरण हुन नसक्ने र गरिबी पनि घटाउन नसक्ने जिकिर गरे। मन्त्री शर्माले उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिए।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुरु मेला कार्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ। प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन्।