[ad_1]
२३ माघ, जनकपुरधाम । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।
प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरु सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले करार पदपूर्ति बन्द गर्नु पर्ने, मधेश प्रदेश लोकसेवा आयोग निस्कृय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर्नु पर्नेलगायतका माग गरेका थिए ।
उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन समेत माग गरेका छन् ।
‘अब सरकारी जागिर गर्नलाई हाम्रो मधेश प्रदेशमा पढ्नु पर्दैन कि? नेता मन्त्रीहरुको कार्यकर्ता भई करारको अवधी कायम गरि जागिर खाने हो जस्तो लाग्छ’, ज्ञापन पत्रमा भनिएको छ ‘तसर्थः मधेस प्रदेशको लोकसेवा आयोगलाई यथाशीध्र विज्ञापन खुलाउन ध्यानकर्षण गराउन चाहन्छौं । अन्यथा विद्यार्थीहरुमा पर्न गएको मानसिक असर प्रति मधेश प्रदेश अन्तर्गतका लोकसेवा आयोग जवाफदेही हुनुपर्ने छ ।’
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले कम्प्युटर अपरेटर सम्बन्धि पदको विज्ञापन खुलाउन ऐन संशोधन गरी समावेश गर्ने आश्वासन दिएको प्रदर्शनकारी विद्यार्थी तर्फकी नेतृत्वकर्ता इन्दु सिंहले बताइन् ।