काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औँ महाधिवेशन अन्तर्गत बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा जारी छ। महाधिवेशनको पाँचौ दिन तथा बन्दसत्रको चौँथो दिन आज बिहान ११ बजदेखि साँझ ५ बजेसम्म बन्दसत्र चलेको थियो।
बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देव गुरुङको विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रतुति भएको थियो। दस्तावेज र विधानमाथि समूहगत छलफलको निष्कर्षको प्रस्तुति बुधवार अपरान्ह १ बजेबाट शुरु भएको थियो।
बुधवार ११ वटा समूह प्रमुख र आज १३ वटा समूह प्रमुखले प्रस्तुति राखेसँगै २४ वटै समूह प्रमुखले समूहगत निष्कर्ष प्रस्तुत गरेका छन्। यससँगै समूहगत छलफल सकिएको छ। समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएकोमा सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेर २४ वटा बनेको थियो।
अधिकांश समूहले प्रचण्डको दस्तावेजमाथि समर्थन जनाएका छन् भने केहीले फरक मत राखेका छन्। दस्तावेजको मूल स्पिरिटमा समर्थन जनाउँदै समूह प्रमुखहरुले चालु महाधिवेशनबाटै विचार संश्लेषण गर्नुपर्ने, २१औँ शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा समाजवादी क्रान्तिको चरणवद्ध कार्यक्रमसहित स्पष्ट कार्यदिशा तय गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि सार्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तै, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकाल, मन्त्री र सांसदमा चार कार्यकालभन्दा बढी हुन नहुने, पार्टी कमिटीको प्रमुख पदमा दुई कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरुमा एक कार्यकालमात्र पठाउनु पर्ने र अवसरहरुको वितरणमा आलोपालो प्रणाली अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ। पार्टीमा ७० वर्षीय उमेर हद तोकेर अनिवार्य अवकाशको व्यवस्था गर्नुपर्ने, नेतृत्व चयनमा ५० प्रतिशत निर्वाचन र ५० प्रतिशत कार्य सम्पादन मूल्याङ्कनको अङ्क कायम गर्नुपर्ने समेत सुझाव छ।
त्यसैगरी, केन्द्रीय नेताहरुको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गर्नुपर्ने, सुदृढ पार्टी निर्माणको लागि केन्द्रीय कमिटीसहित सबै तहका कमिटीहरुको आकार घटाइ दुई अंकको बनाउनुपर्ने, पार्टी परित्याग गरी पुनः पार्टीमा फर्किने नेता कार्यकर्ताहरुलाई एक तह घटुवा गरी संगठित गर्नुपर्ने, नेताहरुले आफ्नो छोराछोरीहरुलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने, पार्टीभित्र सबै नेता कार्यकर्ताहरुको साँस्कृतिक आचरण सम्बन्धि आचारसंहिता बनाई कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिइएको छ।
बन्दसत्रमा नेता लेखनाथ न्यौपानेले प्रचण्डको राजनीतिक प्रतिदेवनमा १० बुँदे फरक मत राखेका थिए। उनले माओवादीका नेताहरु व्यक्तिवाद पछाडि लाग्दा प्रचण्डमा भने बढी आत्मकेन्द्रीत व्यक्तिवाद देखिएको टिप्पणी गरे।
समूहगत प्रस्तुति सकिएसँगै बन्द सत्र भोलि अपरान्ह १ बजेसम्मका लागि स्थगित भएको छ। बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने बताइएको छ।