काठमाडौं : नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार देशभर केही जघन्य प्रकृतिका अपराधहरुमा कमी आएको छ।

कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, करणी जस्ता अपराधहरुमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

त्यस्तै, चोरी, बैकिङ कसुर, लागु औषध, ठगी जस्ता घटना भने बृद्धि भएको छ। गएको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना बढेको प्रवक्ता कुँवरले जानकारी दिए।

‘पाँच महिना अगाडिसम्म लकडाउनले धेरै प्रभाव पारेको थियो। मानिसहरु घरमा नै थिए। जसले गर्दा चोरी र अन्य अपराधिक गतिविधि भएको थिएन। अहिले मानिस घरमा नभएकाले गर्दा पनि चोरीको घटना बढेका छन्,’ एसएसपी कुँवरले भने।

गएको पाँच महिनामा देशर २ सय ४६ वटा हत्या भए। तर, सोही समयको अघिल्लो आर्थिक वर्षमा २ सय ९० वटा हत्याका घटनाहरु भएका थिए। आर्थिक वर्ष २०७७/७८ मा २ हजार ९ सय सय ५८ जनाले आत्महत्या गरेका थिए।

चालु आर्थिक वर्षमा आत्महत्याको सङ्ख्यामा कमी आएको छ। २ हजार ६ सय २८ जनाले आत्महत्या गरेका छन्। तुलनात्मक रुपमा ११ प्रतिशतले आत्महत्यामा कमी आएको हो।

करणीका घटनामा पनि ९ प्रतिशतले कमी आएको छ। गएको पाँच महिनामा ९ सय ९३ वटा करणीका घटना भएका छन्। आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा १ हजार ९७ वटा यस्ता घटना भएका थिए। हातहतियार खरखजना सम्बन्धी अपराधमा पनि कमी आएको छ। २१ प्रतिशतले यस्ता घटनाहरु कमी आएको हो। आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा मा १ सय १३ वटा घटना भएका थिए। तर, आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ८९ वटा घटना प्रहरीमा दर्ता भएका छन्।

सबै अपराधहरुको सङख्या कमी भए पनि बैकिङ कसुर सम्बन्धी घटनाहरु बढेको छ। १ सय ५ प्रतिशतले यस्ता घटनाहरु बढेको देखिन्छ। चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार ८ सय ७ वटा बैकिङ कसुर सम्बन्धि घटना दर्ता भएका हुन्। आर्थिक वर्ष २०७७/७८ मा ८ सय ८० वटा मात्र बैकिङ कसुरका घटना भएका थिए।

‘सस्थागत र सहकारी ठगी बढेको छ। कानुनी दायरमा ल्याउन प्रहरी सक्रिय भएर पनि होला, यस्ता घटना बाहिर आउन थालेका छन्,’ एसएसपी कुँवरले भने। त्यस्तै चोरीको घटना पनि ३५ प्रतिशत माथि बृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार २ सय ३७ वटा चोरीका घटना भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा  ९ सय १६ वटा मात्र घटना भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय