बुटवल : दाङको घोराही कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका कैदी प्रहरीलाई होटलको कोठामा थुनेर प्रहरीकै मोटरसाइकल लिएर भागेको घटनाले यतिबेला तरंग ल्याएको छ। कारागारका सुरक्षाकर्मीले उपचार गर्ने नाममा जन्मकैद भोग्दै आएका दाङको राजपुर गाउँपालिका-३ का ३२ वर्षीय यमराज परियारलाई गत पुस ८ गते भगाएको पुष्टि भएको छ।

छालाको उपचार गर्न भनेर कारागारका नाइके कैदी परियारलाई हत्कडी नलगाई प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए। उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने भनिए पनि उनीहरु अस्पताल नगई सिधै होटलमा गएको अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले प्रहरीकै चरम लापरवाहीले यस्तो घटना घटेको बताए।

‘यमराज ७ वर्ष अघि आफ्नै प्रेमिकाको हत्या गरेपछि २० वर्ष (जन्मकैद) भोग्दै आएको व्यक्ति हो। हामी घटनाका विषयमा सुक्ष्म अनुसन्धान गरिरहेका छौँ। घटनाका दोषी सबैलाई कानुन अनुसार कारबाही हुन्छ,’ काफ्लेले भने।

कारागारबाट निस्केपछि प्रहरी जवान चौधरी र कैदी परियार घोराहीकै एक होटलमा पुगेर कफी पिएको र त्यसपछि दुई जना महिलालाई भेटेको अनुसन्धानबाट खुलेको हो। होटलमा बसेका बेला परियारले प्रहरी जवान चौधरी बसेको कोठाको चुक्कुल बाहिरबाट लगाएर प्रहरीकै मोटरसाइल लिएर भागेको प्रहरी स्रोतले बताएको छ।

परियार दिउँसो १२ बजे तिर भागेपनि प्रहरी जवान चौधरीले अपरान्ह ४ बजे मात्रै कैदी भागेको जानकारी गराएका थिए। भाग्न प्रयोग गरेको मोटरसाइकल लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला परेको थियो।

अहिले घोराही कारागारका जेलर र सुरक्षार्थ खटाएका सबै सुरक्षाकर्मी परिवर्तन गरिएको छ। घटनापछि कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको काफ्लेले बताए।

प्रशासनले जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई खटाएको छ। यस्तै, अहिले प्रहरी नायव निरीक्षक (सई) नन्दराम केसीको कमाण्डमा ७ जना प्रहरीलाई कारागारको भित्री सुरक्षार्थ खटाइएको छ।

कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरीसहित ५ जना पक्राउ परेका छन्। घटनामा संलग्न भएका प्रहरी जवानसहित कारागारका कार्यालय सहयोगी, होटलमा पुगेका ती दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु कहाँकहाँ पुगेको भन्ने सीसीटीभी फुटेजसमेत प्रहरीले संकलन गरेको छ।

फरार कैदी परियार कारागारका नाइके थिए। उनले कैदीबन्दीहरुको समस्या बुझ्ने र बाहिर कारागार प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी पाएका थिए।

उनी यसअघि पनि तरकारी, मासु, अन्य सरसामान किन्न बजारसम्म पुग्ने गरेको पाइएको छ। उनीमाथि कारागार र सुरक्षा प्रशासनले विश्वास बढी गरेका कारण यो घटना भएको सुरक्षा अधिकारीको बुझाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय