काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पारित हुनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक कार्यक्रममा गोल्छाले अर्थतन्त्रको विकासको लागि एमसीसी आवश्यक रहेको बताए।
आर्थिक पत्रकार सम्मान तथा पहिलो जर्नल ‘अर्थचित्र’ विमोचन कार्यक्रममा अध्यक्ष गोल्छाले अर्थतन्त्र उकास्न एमसीसी ल्याउनुपर्ने बताए। “अर्थतन्त्रको विकास अतिवाद र सङ्कुचित सोचले हुँदैन। एससीसी ल्याउनुपर्छ’’ उनले भने।
कोरोना महामारीले थलिएको निजी क्षेत्र अझै पूर्णरुपमा पहिलेकै अवस्थामा फर्की नसकेको बताउँदै उनले सबैभन्दा बढी प्रभावित साना तथा मझौला उद्योगको अवस्था अझै उस्तै रहेको बताए। नेपाली अर्थतन्त्रको अबको प्रमुख चुनौती नै कोभिडपछिको धरासयी अर्थतन्त्र उकास्नु हुने उनको भनाइ थियो। “कोभिडपछिको अर्थतन्त्र ट्रयाकमा ल्याउन राष्ट्र बैंकको नीतिले सहयोग गरेको छ, तर यो पर्याप्त छैन,“ उनले भने। कोभिडले सबै क्षेत्रमा असर परेकाले सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको र राहत प्रदान गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदतमा आफूहरूले हस्तक्षेप नगरेको बताए। राष्ट्र बैंकले गत भदौदेखि निक्षेपको ब्याजदर अधिकतम १० प्रतिशतसम्म मात्र दिन पाउने व्यवस्था गरेपछि केन्द्रीय बैंकको हस्तक्षेपले बजार प्रभावित भएको आरोप लागेको बेला गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
उनले बजार प्रभावित नहोस् भनेर नीति मात्र बनाएको दाबी उनको थियो। उक्त कार्यक्रमना अग्रज आर्थिक पत्रकार न्यू बिजनेस एजका कार्यकारी सम्पादक केशव गौतम सम्मानित भएका छन्।