काठमाडौं। नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन्।
आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २०५ मत प्राप्त गरी विजयी भएका हुन्।
क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौं महानगरपालिका-६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गरे।
क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित भएका छन्। सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुँदा सदस्यमा मिश्रित परिणाम आएको छ।
त्यसैगरी काठमाडौं क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिएका छन्। उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो।
सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले जानकारी दिए। सो क्षेत्रमा कुल ३०७ मतदाता छन्।