चितवन। नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि आज यहाँ मोटरसाइकल र्‍याली गरिएको छ।

युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएका आयोजकले जनाएको छ। जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका थिए।

नारायणी नदी किनारबाट शुरु र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको थियो। एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो।

युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी मंसीर १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए।

भरतपुरसँगै जिल्लाका अन्य पालिकामा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको केसीको भनाइ छ। एमालेको केन्द्रीय निर्देशनानुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय