काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कार्यालय थापाथलीबाट आफूले उम्मेदवारी घोषणा गर्न चाहे पनि नपाएको बताएका छन्। आइतबार भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।
‘‘थापाथलीस्थित पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ। त्यो आधिकारिक केन्द्रीय कार्यालय हो। महाधिवेशनमा उम्मेदवारी दिने कुरा त्यहीँबाट घोषणा गर्नु उचित हुने थियो’’ उनले भने ‘‘तर महाधिवेशनको व्यस्तताको कारण भन्दै सबै कक्ष खाली नरहेको जानकारी पाएँ।’’
पार्टी कार्यालयमा ठाउँ नभएको बताए पनि रावलले भृकुटीमण्डप पुगेर पत्रकार सम्मेलन गरे। त्यहाँ उनले पार्टीको १०औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे। आफ्नो उम्मेदवारी घोषणा गर्दै रावलले अध्यक्ष केपी शर्मा ओलीले अब विश्राम लिनुपर्ने बताए।
ओली ७० वर्षसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेकाले अब ओलीले विश्राम लिनुपर्ने रावलले बताए। ‘‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ,’’ उनले भने, ‘‘यस क्रममा उहाँले देश र जनताका लागि गर्न सक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्।’’
रावलले यसअघि नै ओलीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्न पनि घोषणा गरिसकेको स्मरण गराए।