काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा छलफल भएको जनाइएको छ।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीन दिने भ्रमणका क्रममा बुधवार साँझ काठमाडौं आइपुगेका हुन्।
लुले शुक्रवार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका क्रममा लुले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपाल भ्रमणको क्रममा बिहीबारै एक कार्यक्रममा सहभागी भएर नेपालका केही प्रमुख युवा अगुवाहरूलाई भेटेका छन्।
