धनगढी। कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणका मुख्य योजनाकार भनिएका नवीन रावलसहित सात जना अझै फरार छन्। बडुवाल हत्या आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको थियो।

बडुवालको हत्या भएको ९ दिनसम्म पनि प्रहरीले आरोपित सात जनालाई पक्राउ गर्न सकेको छैन भने हत्याको कारण समेत खुलेको छैन। २२ कात्तिकको राति लम्कीचुहा नगरपालिका-१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटल नजिकै नवीन रावलको समूहले चक्कुले हानेर लखेटी लखेटी हत्या गरेको थियो।

फरार आरोपितमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायब उपरीक्षकका आफन्त छन्। विगतदेखि नै राजनीतिक दलले संरक्षण गर्दै आएका व्यक्ति पनि फरार छन्। सोही कारण प्रहरीको भूमिकामाथि पनि शंका लागेको मृतक भूपेन्द्रका आफन्त भगत बडुवालले बताए।

‘‘प्रहरीले अनुसन्धान गरेर अपराधीलाई समात्न सकेन”, उनले भने, ‘‘मुख्य योजनाकार अझै फरार छन्।”

घटनामा संलग्न रहेकाको पहिचान हुँदा पनि उनीहरुलाई पक्राउ गर्न कैलाली प्रहरी असफल भएको पीडित पक्षको गुनासो छ। फरार आरोपित कैलाली आसपासकै जिल्लामा रहेको बताउँदै आएको प्रहरीले पक्राउ गर्न भने सकेको छैन। पीडित परिवारका अनुसार घटना भएको समयमा प्रहरीले सक्रियता देखाए पनि पछिल्लो समयमा भने सुस्ताएको छ।

लम्कीमा सक्रिय आपराधिक समूहलाई राजनीतिक दलका नेताको संरक्षण रहेको आरोप लाग्ने गरेको छ। राजनीतिक संरक्षणकै कारण हत्या प्रकरणका मुख्य योजनाकारसहित आरोपित पक्राउ नपरेको आशंका उब्जन थालेको मृतकका आफन्त बडुवालले बताए।

‘‘यहाँ मुख्य रुपमा दुई समूह सक्रिय छन्, दुवै समूहलाई राजनीतिक संरक्षण छ”, उनले भने, ‘‘नेताकै दबाबका कारण मुख्य योजनाकारसहित अन्य आरोपित पक्राउ नपरेका हुन्।”

बडुवाल हत्या प्रकरणका सबै आरोपित पक्राउ नपर्नुमा कैलाली प्रहरीको नेतृत्वमाथि पनि प्रश्न उठ्न थालेको छ।

‘‘हत्या आरोपी १६ मध्ये ९ जनालाई नियन्त्रणमा लिइएको छ”, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले भने, ‘‘बाँकी फरार आरोपीको पनि खोजी भइरहेको छ।”

एसपी अधिकारीले फरार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए। ‘‘खोजी कार्य जारी छ। नियन्त्रणमा रहेकाहरूमाथि अनुसन्धान भइरहेको छ”, उनले भने।

एसपी अधिकारीले घटनाको अनुसन्धानमा राजनीतिक दबाबले काम गरेको भन्ने कुरा सही नभएको बताए। उनले व्यक्तिको हत्या भएको घटनामा दबाब र प्रभावको कुरै नहुने बताए। उनले भने, ‘‘यसमा कसैले दबाब दिन खोज्छ भने त्यो पनि अनुसन्धानको दायरामा आउँछ।”

भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कपिलसहित लम्कीचुहा नगरपालिका-३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका-१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले पक्राउ परेका हुन्।

आपसी रिसइबीमा होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा भूपेन्द्रको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार रहेका रावल अपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ। उनीसहित ८ आरोपी फरार छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय