
बीरगन्ज। रौतहटमा एकै परिवारका दुई बालकहरुको विष सेवनको कारणले मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो ।
उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय देशवासी गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार आफ्नो घरमै रहेका दुबैजना बालकहरुले शनिवार बिहान बान्ता गरेपछि उनीहरुलाई उपचारको लागि गरुडा स्थित एउटा निजि अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ उनीहरूको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनीहरुलाई थप उपचारको लागि बीरगन्ज लगिएको थियो ।
दुबै जनाको बीरगन्ज स्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक बालकहरुको बुबा वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेको र घरमा उनीहरु आमा र हजुरआमासँग बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिए अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।
उहाँले पुरानो रिसीइवीको कारण कसैले विष सेवन गराइएको हुनसक्ने भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु बताउनुभयो।
‘हामी घटनाको जानकारी प्राप्त हुनसाथ अनुसन्धान लागिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘चाडै सत्यतथ्य पत्ता लाग्नेमा हामी विस्वस्त छौँ ।’ प्रहरीका अनुसार शव पोसमाडमका लागि नारायणि अस्पताल लगिएकाे छ ।