कैलाली। कैलालीको टीकापुर १ मा भूपेन्द्र बडूवालको हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। लम्कीचुहा १ लम्की चौराह बस्ने २३ वर्षीय भूपेन्द्र बडूवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा लम्कीचुहा ३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर १ बस्ने २३ वर्षीय प्रवीण रिमाल, टीकापुर १ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन साह छन्।
अपरिचित व्यक्तिहरूको धारिलो हतियार प्रहारबाट भूपेन्द्र गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन भएकाे थीयाे। घाइतेलाई उपचारको लागि टीकापुर अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। सोही विषयलाई लिएर मृतकका आफन्तहरूले चिसापानी बजारस्थित महेश रावलको संगम होटेल, भैरव शाही र राजबहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ।
साथै उनीहरूले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्वपश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।