
वीरगञ्ज २२ कार्तिक । महापर्व छठको अवसरमा वीरगञ्जस्थित घडिअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको रक्तदानमा ८२ पोका रगत संकलन भएको छ । छठ पर्वको पहिलो दिन अर्थात नहाय-खायको अवसरमा घडिअर्वा पोखरा परिसरमा आयोजित कार्यक्रममा २ महिलासहित ८२ जनाले रक्तदान गरेका हुन् । घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष लखनलाल गुप्ताको सभापतित्व र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य सुशील कुमार कानुले रक्तदान गरेर गरेका थिए । स्पोर्ट्स क्लबले प्रत्येक वर्ष छठ पर्वको अवसरमा रक्तदानको आयोजना गर्दै आएको छ । कार्यक्रममा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, डा. दिपक चौरसिया, समाजिक अभियन्ता रोहित बरनवाल, निखिल बरनवाल लगायतले रक्तदान गरेका थिए । विगत दुई वर्षदेखि कोरोनाभाइरस महामारीका कारण कार्यक्रम गर्न नसकीए बताउँदै यसवर्ष छठलाई भव्य बनाउन आफूहरुले कुनै कसर बाकि नराखेको क्लबका अध्यक्ष गुप्ताले बताए । उनले घडिअर्वा पोखरी परिसारलाई छठका लागि दुलही झैँ सजाइएको बताए ।