spot_img

spot_img

पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ। बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ।

दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराहरूले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ। विशाल पहिराको मुन्तिर देखिने बुटवल बजार निरीह छ। यस वर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ। यो विशाल पहिरो एकैचोटी गल्र्यामगुर्लुम गएन। गत वर्षदेखि नै स–साना पहिराहरू जान थालेको र यसपालि सामान्य वर्षा हुँदा पनि हिलो र लेदो झर्न थालेकाले पहिरोमुनिको बस्ती सचेत भएर बसेको थियो। जसका कारण कुनै मानवीय क्षति हुन भने पाएन।

यो भीमकाय पहिराको मुन्तिर अवस्थित शहरको भविष्य के होला ? के साँच्चै अहिलेको अवस्थामा देखिएको चुरेको पहिरो वर्षातहरूमा थामिएला ? यी विषयमा अहिले बुटवल क्षेत्रमा छलफल हुन थालेका छन्।

विकासोन्मुख शहरमा देखिएको यो जोखिमले स्थानीयवासीमा चिन्ता जगाइदिएको छ। “समयमै चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो भने बुटवलको उत्तरी क्षेत्र पहिरामा मिसिन सक्छ”, चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम भन्छन्, “अब पनि ढिलाइ भयो भने ठूलो क्षति हुने खतरा छ, यसमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ।”

अघिल्लो वर्षात्मा संकेत देखिएको थियो

बुटवल क्षेत्रमा चुरेको पहिरो अहिले मात्रै आएको होइन। राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर क्षेत्रमा विसं २०३३ बाटै पहिरो देखिन थालेको थियो।

२०५५ सालमा वडा नं ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरो आयो। त्यसले लामो समयसम्म ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो। सरकारले सामान्य तटबन्धलगायतका काम गरे पनि भरपर्दो व्यवस्था गरेन। त्यतिबेला स्थानीयवासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरणसमेत गरियो। पछि विस्तारै पहिरो थामियो र हरियाली भयो।

२०५५ सालदेखि २०७१ सम्म आइपुग्दा पहिरो गएको स्थानमा फेरि रुख बिरुवा हुर्किएपछि पहिरो गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो। पहिरो रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले। घरजग्गा किनबेच हुन थाल्यो। स्थानीयवासीले मात्र होइन, स्थानीय सरकारले समेत पहिरो बिर्सियो।

अघिल्लो वर्ष २८ साउनमा बुटवल र पाल्पाको तिनाउ गाउँपालिका र बुटवल आसपासमा भीषण वर्षा भयो। करिब पाँच घण्टा लामो उक्त वर्षाले तिनाउ गाउँंपालिकाको दोभानलगायतका क्षेत्रमा क्षति पुर्‍यायो। केही घर पनि पुरिए। रातिको समयमा भएको भारी वर्षाले तिनाउ नदीमा पनि भयंकर बाढी आयो। रातभर भएको भारी वर्षापछि बिहान उठ्दा बुटवलमाथिका चुरे पहाडमा साना–साना पहिराका थुप्रै दृश्य देखिए। स्थानीय केही मिडियाले चुरेमा आएका स–साना पहिराले जोखिम निम्त्याएको समाचार पनि लेखे। केही अगुवाहरूले जोखिम हुन सक्ने ठानेर आवाज उठाएका पनि थिए।

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका केही घरमा चुरेबाट बग्ने साना खोलाले ल्याएको गेग्रेटो नै पस्यो तर जिम्मेवार निकायले ध्यान पुर्‍याउन सकेन।

यस वर्ष पनि चुरेमा पहिरो खसिरह्यो। लामो र भारी वर्षा अनुुभव गरे पनि चुरेमा गएको पहिरो बुटवलवासीले थाहै पाएनन्। एकैचोटि पहिरो गएन। रुख बिरुवा र हरियालीका कारण भित्रभित्रै पहिरो जाँदा पनि तलबाट देखिएन।

गत १३ र १४ भदौमा भारी वर्षासँगै लेदो र हिलो बगेर घरहरू पुरिँदा पनि माथि जंगलमा पहिरो देखिएको थिएन। यसलाई पनि बुटवलवासीले सामान्यरूपमा लिए। घर वरिपरि हिलो बग्दा पनि ज्योतिनगर क्षेत्रका बासिन्दा घर छाडेर भागेनन्। थोरै घरपरिवारमात्रै लेदो बग्न थालेपछि डरले घर छाडेका थिए। अधिकांशले जोखिम मोलेरै बसे। साना–साना पहिरो खसेर मात्र हिलो बगेको महसुस गरियो। तर जब भारी वर्षा थामियो दुई दिनपछि मात्रै बजारमाथिको पहाडको दृश्य देखेर बुटवलवासी झसंग भए। त्यतिबेलासम्म भारी वर्षा बन्द भइसकेको थियो।

अहिले वर्षा बन्द भए पनि पहिरो ठूलो भएकाले फेरि ढुंगामाटो खस्न सक्ने जोखिम भने कायमै छ। जुनसुकै समयमा खस्न सक्ने गरी ढुंगा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र अहिले पनि जोखिममा छ। “भर्खरै खस्छ कि जस्तो गरी ढुङ्गाहरू बसेकाले अझै ढुक्क हुनसकेका छैनौँ, घर वरिपरि ढुंगा, माटोसहितको पहिराले लथालिंग अवस्था छ, भएको सम्पत्ति यही घर हो, एक महिना त डेरा भाडामा लिएर बस्यौँ तर आफ्नो घरजस्तो नहुने भएपछि फेरि यहीँ फर्कियौँ”, पहिरो प्रभावित तुलसा सुवेदी गुनासो गर्छन्।

१३ भदौ रातभर पानी पर्‍ यो। १४ गते बिहान एकाएक माटोको लेदोसहितको भेल आउन थालेपछि बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन निकै आत्तिनुभयो तर पहिरो घरभित्रै पस्ला भन्ने हेक्का उनलाई थिएन। शुरुमा सानो भेल बगे पनि विस्तारै ठूला ढुंगासहित पहिरो आउन थालेपछि पुनसहित उनका छिमेकीहरू हल्लाखल्ला गर्न थाले।

बिहान ९ बजेपछि चुरे पहाडबाट ठूला–ठूला ढुंगासहित पहिरो आयो। पुनसहित उहाँका छिमेकी हतार–हतार गरी बालबालिका लिएर बुटवल बहुमुखी क्याम्पसमा पुगे। त्यतिबेलासम्म ज्योतिनगरका एक दर्जन बढी परिवार क्याम्पसको प्रांगणमा आएर बसेका थिए।

१४ भदौमा गएको पहिराले ज्योतिनगर मिलनपथ निवासी सीता मल्लको दुईतले घरको पहिलो तला पूरै पुरिएको छ। पहिराका कारण घरमा बस्ने स्थिति नभएपछि एक महिना भाडामा बसेकी सीताले अहिले ५० हजार खर्च गरी घरभित्रको माटो सोहोर्ने र पहिराले भत्काएको घर अगाडिको पर्खाल लगाउने काम गर्दै गर्छिन्।

“स्थानीय सरकारले भाडामा बसेको रकम दिने भने पनि अहिलेसम्म दिएको छैन। जिल्ला प्रशासन कार्यालयबाट भने राहतस्वरुप प्रतिपरिवार १५ हजार पाएका छौँ”, मल्ल भन्छन्, “हामीलाई राहत होइन, पहिरो नियन्त्रण भए पुग्छ।” २०५५ सालको पहिरोसमेत बेहोरेकी मल्लसहित त्यहाँका स्थानीयवासीलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो। तर मल्ल त्यहाँ बसिनन्।

“तामनगरमा पनि खोलाकै किनारमा हामीलाई १० धुर जग्गा दिइएको थियो तर, यहाँ घर बनाएर बसिसकेकाले छोड्न मन लागेन”, उनले भनिन्। सरकारले यहाँबाट बस्ती स्थानान्तरण गर्नुभन्दा पहिरो नियन्त्रणका लागि योजना बनाउनुपर्ने उनको भनाइ छ।

ज्योतिनगरकै कस्मिरा बानु पनि पहिरोले भत्काएको घर अगाडिको पर्खाल र गेट बनाउने तयारी गर्दै गर्दैछिन्। पहिरोले घरमा बस्ने स्थिति नहुँदा डेढ महिना भाडाको घरमा बसेर एक हप्ताअघि फर्किएको बानुको परिवार पनि अहिले पुरिएको एकतले घरका कोठा सरसफाइ गर्दैछ। “पहिराले गर्दा घरै अगाडिका तीनवटा घर भत्किएकाले टोल नै सुनसान छ, जताततै पहिराले ल्याएको माटो र ढुङ्गा मात्रै देख्दा मन खिन्न हुन्छ,” उनले भनिन्।

बुटवल उपमहानगरपालिका–२ पाखापानी क्षेत्रमा पनि पहिराका दृश्यहरू त्यत्तिकै डरलाग्दा छन्। पहाडैभरि पहिरो झरेका कारण पाखापानीका बासिन्दा वर्षात्भरि रातिको समयमा घरै छाड्न बाध्य भए।

यहाँ पनि गत वर्षदेखि पहिरो देखिन थालेको हो। गत वर्ष देखिएका केही पहिराका दृष्यहरू बढेर अहिले ठूलो भागमा क्षति पुगेको छ। कैयाैंपटक पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन पुग्यो। डिभिजन सडक कार्यालय बुटवलले तारजालीमा ढुंगा भरेर खसेको पहिरो सडकमा आउन नदिने गरी तटबन्ध त गरेको छ तर जोखिम कायमै छ भन्छन् वडाध्यक्ष रमेश नेपाल।

पहिराका कारण बुटवलको शिरमा रहेको सिद्धबाबा क्षेत्र पनि उत्तिकै जोखिममा छ। पानीका मूलसँगै बेलाबेलामा पहिरो जाने र ढुंगा खस्ने हुँदा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ। वर्षा हुनेबित्तिकै पहिरो जाने भएकाले यो क्षेत्रमा पर्ने बुटवल–पाल्पा सडक अवरुद्ध हुने गर्छ। यसको व्यवस्थापनका लागि सरकारले सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ।

किन गयो बुटवल क्षेत्रको चुरेमा पहिरो ?

चुरमा पहिरो जानुको खास कारण विज्ञहरूले पत्ता लगाउन सकेका छैनन् तर मौसममा आएको परिवर्तन, मानवीय अतिक्रमण, सडकलगायत पूर्वाधारका नाममा भएका चुरे क्षेत्रको विनास र २०७२ मा आएको भूकम्पलाई नै कारण मानिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय एकाइ कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेत बताउँछन्।

अघिल्लो र यस वर्ष छोटो समय तर भारी वर्षा चुरे क्षेत्रमा भयो। हुन त बुटवल क्षेत्र तुलनात्मक रूपमा धेरै पानी पर्ने क्षेत्र हो। दक्षिणतिरबाट जलवाष्प बोकेर आएको बादल वसन्तपुर र नुवाकोटका अग्ला डाँडामा ठोक्किँदा यहाँ पानी परिरहन्छ।

पछिल्ला केही वर्षहरूमा धेरै पानी परेको महसुस नभए पनि यो क्षेत्र भौगोलिक हिसाबले बढी पानी पर्ने क्षेत्रको रुपमा लिइन्छ। मनसुन सक्रिय भएको बेला यहांँ ठूलो र धेरै पानी पर्ने सम्भावना सधैं रहन्छ। हिउँद वा प्रिमनसुनका बेला पनि अरु ठाउँको तुलनामा यहाँ पानी परिरहन्छ। ज्योतिनगरमाथिको चुरेमा छवटा पानीका मुहानसमेत छन्।

ती पानीका मुहान व्यवस्थित हुन नसक्नु, भारी वर्षा हुनु, बर्सेनि डढेलो लाग्नु र २०७२ को भूकम्पले चर्किएका भू–भागबाट पानी पस्नु चुरेको पहिराका कारण हुन् भन्छन्, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका जलाधार व्यवस्थापन अधिकृत विमल राउत।

मानवीय अतिक्रमणका कारण पहिरो गएको भनिए पनि चुरेका फेदीमा सडक बनेको स्थानमा पहिरो नगएका कारण अतिक्रमण भन्न नमिल्ने उनको भनाइ छ।

बुटवल क्षेत्रको चुरेमा पहिरो गएपछि विज्ञहरूको टोलीले एक महिनाअघि यहाँ स्थलगत अध्ययनसमेत गरेको छ। भूगर्भविद् डा रञ्जन दाहालसहितको टोलीले अध्ययन गरेर सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ।

“त्यहाँको चुरेमा पानीका मूलहरू छन्, तीनको व्यवस्थापन पनि छैन र वर्षातमा परेको पानीको व्यवस्थापन पनि छैन त्यसले यति ठूलो पहिरो निम्तिएको हो”, डा दाहाल भन्छन्। पहिरो नियन्त्रणका नाममा परम्परागत तारजाली गरेर समस्याको समाधान नहुने उनको भनाइ छ। “तटबन्ध र तारजालीले पहिरो नियन्त्रण हुँदैन भन्ने कुरामा प्रष्ट हुनुपर्छ”, उनले भने। यसपालि भारी वर्षा भएको र समयमै पानीको व्यवस्थापन गर्न नसकेका कारण पहिरो गएको उनको निष्कर्ष छ।

विज्ञहरूका अनुसार बस्ती विकास वा विभिन्न नाममा चुरे अतिक्रमण हुने भएकाले पहिरोको जोखिम रहन्छ। त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय भूगोल विभागका सहायक प्राध्यापक डा देवी पौडेल भन्छन्, “चुरेमा जंगल भरिएको हुनुपर्छ, उत्खनन भएको हुनुहुँदैन। निरन्तर वृक्षरोपण गर्नुपर्छ।”

चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमका अनुसार २०५५ को पहिरोपछि जाइका समूहले सो क्षेत्रमा सर्भे गरेको थियो। भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो।

चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर, त्यो काम अझै भएको छैन। चुरेको पहिरो व्यवस्थापनका लागि गत वर्ष विष्णु पौडेल अर्थमन्त्री भएका समयमा चार करोड ११ लाख बजेट विनियोजन गरिएको थियो।

यो बजेटको आधा रकम गत वर्ष नै खर्च गरिए पनि बाँकी दुई करोड यो वर्ष मात्रै हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन्। त्यसो त उपमहानगरपालिकाले पहिरो गएपछि त्यसको नियन्त्रण तथा माटो सोर्ने काममा मात्रै करिब ८० लाख खर्च भएको जनाएको छ। तर, पहिरो नियन्त्रणकै लागि ठोस काम अझै हुन बाँकी छ।

“ज्योतिनगरको पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउँदैछौँ, त्यसका लागि विज्ञको समूहले अध्ययन शुरु गरेको छ, अध्ययनपछि सुझावका आधारमा संघ र प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउँछौ”, उपमहानगरपालिका प्रमुख सुवेदी भन्नुहुन्छ। चुरे क्षेत्रमा पहिरो नियन्त्रणका लागि सघाउ पुर्‍याउने वनस्पति रोप्ने, ठूला रुखहरू नम्बरिङ गरी हटाउने र पानीको निकासका लागि प्राविधिक खटाएर काम गर्ने योजना उपमहानगरको छ।

चुरेमा गएको पहिरो नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले भने कुनै योजना बनाएको छैन। नयाँ सरकार गठनपछि भागबण्डामै अलमलिएको प्रदेश सरकारका मन्त्रालयहरू अझै लयमा फर्किन सकेका छैनन्।

अधिकांश मन्त्रालय टुक्रिएपछि जिम्मेवारी बाँडफाँटसमेत हुन नसक्दा मन्त्रालयका कामले गति लिनसकेको छैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाटै भयानक पहिराको दृश्य देखिँदासमेत ठोस योजना बन्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...