[ad_1]
१८ माघ, वीरगञ्ज । माइस्थान मन्दिर परिसरमा सवारी साधन लैजान पाउनुपर्ने माग राखेर दायर गरिएको मुद्दामा उच्च अदालतले अन्तरिम आदेश जारी नगर्नुपर्ने बताएको छ ।
पक्ष र विपक्षका अधिवक्ताहरुको बहस सुनेपछि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले तत्कालका लागि अन्तरिम आदेश जारी गर्नु नपर्ने भनी आदेश दिएको हो ।
गहवामाई मन्दिर परिसरमा सौन्दर्यीकरण गरिसकेपछि वीरगञ्ज महानगरले माइस्थानचोकदेखि पूर्व गहवामाई मन्दिरसम्मको सडकमा सवारी साधन लिएर आउन जान निषेध गरेको थियो । त्यसबाट त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु असन्तुष्ट बनेका थिए ।
वीरगञ्ज–६ बस्ने रेवतीप्रसाद साहले माइस्थान मन्दिर परिसरमा सवारी आवागमन गर्न दिनुपर्ने माग राखेर वीरगञ्ज महानगरपालिकाको कार्यालय, मेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष समेतलाई विपक्षी बनाएर उच्च अदालतको अस्थायी इजलासमा माघ १० गते निषेधाज्ञा मुद्दा दायर गरेका थिए ।
माइस्थानचोकदेखि पूर्व गहवामाई मन्दिरसम्म जाने ३० फिट चौडा र १५० मिटर लामो सडकमा कालोपत्र उप्काइ, रंगीन इट्टाको ब्लक लगाइ, पूर्वतर्फको सडक बन्द गरी सडकमा रहेको घर, जग्गा धनीको सम्पूर्ण निकास एवं सवारी लिएर आउन जान नपाउने गरी बन्द गरिदिएको गुनासो निवेदकको छ ।
रिट निवेदनमा सडकमा आवतजावतमा कुनै किसिमको छेकबार नगर्नु, सवारी आवत जावतमा कुनै बाधा व्यवधान नगर्नु/गराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ भनेर माग गरिएको थियो ।
सुविधा र सन्तुलनको दृष्णिकोणले निवेदकले उठाएको विषय निवेदनको अन्तिम टुंगो लाग्दा सम्बोधन गर्न सकिने भएकोले माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन नपर्ने भनी आदेश जारी भएको अस्थायी इजलासका प्रवक्ता राम नरेश महतोले जानकारी दिए ।