spot_img

अटेरी अहेव : खटाएको ठाउँमा जाँदैनन्, गाउँपालिकामा हाजिर गर्दै दिन काट्छन्

६ माघ, जनकपुरधाम । बुधबार दिउँसो १ बजे धनुषाको बटेश्वर गाउँपालिका कार्यालय परिसर पुग्दा अध्यक्ष रामआशिष महतो कुर्चीमा बसेर घाम ताप्दै कर्मचारीहरुसित गफिँदै थिए । अध्यक्षसित भलाकुसारी गरेर कर्मचारीमध्ये एक थिए, सिनियर अहेब (सिएम) महेशकुमार साह ।

स्वास्थ्यकर्मी साह ११ महिनाअघि बटेश्वर–५, शान्तिपुरको स्वास्थ्य चौकीमा कार्यरत थिए । त्यहाँका अरु कर्मचारीसँग उनको विवाद परिरहन्थ्यो । त्यही क्रममा गत चैतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोसीले उनको वडा नं. २, भुचक्रपुरको स्वास्थ्य चौकीमा सरुवा गरिदिए । तर साह ‘विकट ठाउँ’ भन्दै हाजिर हुनै गएनन् । त्यसयता गाउँपालिका आएर हाजिर गर्ने र घर फिर्ने उनको दैनिकी बनेको छ ।

खटाएको ठाउँमा नगई किन बटेश्वर बसिरहेको भनेर सोध्दा सिनियर अहेव साह भन्छन्, ‘पायक परेको ठाउँबाट विकटमा सरुवा भएकाले यही हाजिरी भइरहेको छु । उपयुक्त ठाउँ पाएपछि काममा जान्छु ।’

अहेव साहको घरबाट बटेश्वर गाउँपालिका कार्यालय करिब १५ किलोमिटरमा पर्छ । सरुवा भएको वडा नं. २ को स्वास्थ चौकी करिब डेढ किमी टाढा पर्छ । तर उनी स्वास्थ्य चौकी गएका छैनन्, १५ किमी टाढाकै गाउँपालिका कार्यालयमा पुगेर हाजिर हुन भने छाडेका छैनन् ।

गाउँपालिका अध्यक्ष चुनिएका रामअशिष महतो पनि सिनियर अहेब साहको व्यवहारबाट दिक्क भएको बताउँछन् । ‘म निर्वाचित भएर आएदेखि यतै देखिरहेछु, कुनै काम गर्दैनन्’, उनले अनलाइनखबरसँग भने भने, ‘तीन महिना अघि मैले सरुवा भएको ठाउँमा जान भनेको थिएँ, तर गएका छैनन् ।’

प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्मा आएपछि अहेव साहको व्यवस्थापन गर्ने उनले बताए ।

सिनियर अहेब साह मात्र होइन, ८ महिनाअघि करारमा नियुक्त इन्जिनियर सत्यपाल शौरभ कुशवाहाले पनि यसरी नै तलब खाइरहेका छन् । ‘रौतहटका कुशवाहा कार्यालय पनि तलब लिन मात्र जम्मा ३ पटक आए’, पालिकाका एक कर्मचारी भन्छन्, ‘उनलाई प्रशासकीय अधिकृत र लेखा अधिकृतले तीन पटक एकमुष्ट हाजिरी गराएर ८ महिनाको तलब खुवाए ।’

कुशवाहलाई तत्कालिन अध्यक्ष डम्बरबहादुर राउत, प्रशासकीय अधिकृत रामजी जोसी र लेखा अधिकृत सुमन पुरीले मिलोमतो गरेर २२ असोज २०७८ मा करारमा नियुक्त गरेका थिए ।

फर्जी हाजिरी खडा गरेर तेश्रो पटक तलब खुवाएपछि मिलोमतो बाहिरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौमा कुशवाहाको हाजिरी, तलब बुझेको विवरण र फिल्डमा खटाएको भए आदेशपत्र मागेपछि पालिकाले त्यही फर्जी हाजिरी र आदेशपत्र पठाएको एक कर्मचारी बताउँछन् ।

गाउँपालिकाका लेखा अधिकृत पुरी भने इन्जिनियर कुशवाह कार्यालय नआएपनि फिल्डमा खटेको आधारमा तलब खुवाएको जिकीर गर्छन् ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img