काठमाडौं: असोज ६ गतेबाट ९ गतेसम्म पोखरामा तेस्रो माउन्ट एभरेस्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसीप तथा पहिलो एभरेस्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसीप हुने भएको छ। यस अघि दुई पटक ( सन् २०११ र २०१४)मा च्याम्पियनसीप सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भएको थियो।
प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले प्रतियोगिता स्वीकृती प्रदान समेत गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक, प्राविधिक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र विश्व तेक्वान्दो महासंघका अध्यक्ष लगायत विशिष्ट पदाधिकारीहरूसहित २००० भन्दा बढीको सहभागीता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ। त्यस्तै विश्वस्तरीय तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा आयोजकको छ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगिताको पूर्व तयारी तथा आवश्यक व्यवस्थापनका लागि १०१ सदस्यीय मुल आयोज समिति र १६ वटा उपसमितिहरु गठन गरिएको छ। यो वृहत तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव २ करोड पच्पन्न लाख खर्च रुपैयाँ हुने अनुमान गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि प्रारम्भिक रजिष्ट्रेशन भाद्र ९ गते ( अगष्ट २५ गते ) राखिएको छ भने त्यस पछिको नियमित रजिष्ट्रेशन भाद्र २७ (१२ सेष्टेम्बर ) सम्म राखिएको छ।
हालसम्म ११ राष्ट्रका कुल ८११ जनाको सहभागिताका लागि दर्ता भई सकेका छन् भने प्रतियोगितामा १ हजार भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ। तेक्वान्दो ओलम्पियन दीपक विस्टले दक्षिण एसियाका मुलुक सहित अमेरिका, क्यानडा तथा दक्षिणपूर्वका मुलुकहरुले पनि सहभागिता रहने जनाए।
प्रतियोगिताअन्तर्गत जुनियर ग्योरोगी असोज सात गते र सिनियर ग्योरोगी ८ र ९ गते हुनेछ। प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिला गरी आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। नेपाल तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा हुने प्रथम माउन्ट एभरेस्ट जिसिएस इन्टरनेसनल ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिप ६ गते हुनेछ। दुवै प्रतियोगिता पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछन्।