काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक रणनीति बनाउन गृहकार्यमा जुटेका छन्। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको हप्ता दिनपछि दलहरु चुनाव केन्द्रित हुन थालेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिहीवार सचिवालयको बैठकमा जुटेको छ। अपरान्ह १२ बजेदेखि सचिवालयको बैठक बोलाएर एमालेले चुनावी रणनीति तय गर्न लागेको हो। एमालेकी सचिव पद्मा अर्यालले सचिवालयको बैठकमा चुनावबारे छलफल हुने जानकारी दिइन्। आजको बैठकपछि एमालेले चाँडै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ। उक्त बैठकबाट चुनावको रणनीति र एजेण्डा बनाएर अघि बढ्ने एमालेले बताएको छ। एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमाले एक्लै चुनावमा जाने गरी तयारी गरिरहेको बताएका छन्।
एमाले आजदेखि चुनावको बारेमा आन्तरिक छलफलमा जुट्दा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको भने सचिवालयको बैठक बुधवार नै बसेको थियो। उक्त बैठकले चुनावको घोषणापत्र तयार पार्न नेताहरु गंगालाल तुलाधर,विजय पौडेल र प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ। उम्मेदवार छनोट मापदण्ड बनाउन महासचिव वेदुराम भुसाललाई दिने निर्णय पनि बैठकले गरेको थियो।
त्यस्तै सत्ता गठबन्धन पनि चुनावको तयारीमा छ। चुनाव घोषणा भएकै भोलिपल्टै साउन २० गते सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले टिकट बाँड्न कार्यदल बनाएको थियो। कार्यदलको दोस्रो बैठक आज दिउँसो बालुवाटारमा बस्दै छ। दलहरुले चुनावको मिति घोषणा भएपछि आन्तरिक तयारीसँगै तालमेलका लागि पनि गृहकार्य अघि बढाएका हुन्।
सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले साउन ३० र ३१ गते देशभरका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाए प्रशिक्षण दिँदैछ। यसैगरी भदौ २ बाट देशभर चुनाव केन्द्रीत अभियान चलाउने भएको छ। यसका लागि भदौ २ बाट जिल्ला जिल्लामा केन्द्रीय सदस्यहरु खटाइने कांग्रेस महामन्त्री गगन थापाले बताए।
‘भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्ला पठाउँदैछौ चुनाव केन्द्रित अभियानका क्रममा,’ थापाले भने।
एमालेले पनि कुनै ठाउँ विषेशमा तालमेल हुन सक्ने बताएको छ। सत्ता गठबन्धनमा ल्याउनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपासँग पछिल्लो समय संवाद गरिरहेका छन्। यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि चुनावको रणनीति तयार गरिरहेको छ। जनता समाजवादी पार्टि नेपाल,जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा)बनाएका बाबुराम भट्टराईले पनि आफू गठबन्धनमै रहेको बताइरहेका छन्।
यस्तै दलहरुले आफ्ना गतिविधिलाई पनि चुनाव केन्द्रित गर्दै छन्। एमालेले भदौ २ गतेदेखि सुरु हुने प्रशिक्षणलाई पनि चुनाव केन्द्रित गर्ने जनाएको छ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड जापानको भ्रमणका कारण माओवादी केन्द्रका प्रदेशस्तरीय कार्यक्रमहरु रोकिएको थियो। प्रचण्ड बिहीवार स्वदेश फिर्ता भइसकेका छन्। अब स्थायी कमिटी राखेर चुनावको रणनीति बनाउने माओवादी केन्द्रले तयारी गरिरहेको छ। माओवादी केन्द्रले हालसम्म पदाधिकारीलाई पूर्णता दिन सकेको छैन। असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिइएको थियो भने पोलिटब्युरोको नाम प्रस्ताव गरिएको थियो। पदाधिकारीको चयनका लागि आफूलाई केही समय दिन प्रचण्डले माग गरेका थिए। माओवादीले अब प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी गरेको बताइएको छ।