spot_img

अविरल वर्षासँगै मनोहरा खोला बस्ती पस्यो, के के भयो क्षति?

काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ।

मनोहरा खोला सुकुम्वासी बस्ती पस्दा डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ। मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको छ। प्रभावितहरुको उद्धारमा रातिदेखिन नै प्रहरी र स्थानीय खटेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।

मध्यराति बाढी आउँदा ज्यान जोगाउन मानिसहरुको भागाभाग भएको स्थानीयले बताए। कोही भागेर अरनिको राजमार्गको सडकमा आइपुगेका थिए भने कोही भने घरको छतमा बसेका थिए।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको छ। बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको बताउँदै उनले भन्नुभयो, ‘यहाँको अवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो।’

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका-१ र २ का मनोहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताए। उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए।

त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए।

के के भयो क्षति ?

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मनहरा खोला निलोपुल नजिक जिल्ला बंगुर फर्म संचालन गर्ने हरी राईको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको प्रहरीले जनाएको छ। यस्तै, सोही नगरपालिकाको वडा नं. १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ। एउटा टहरामा बस्दै आएका ४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

मध्यपुर थिमि नगरपालिका वडा नं. २ मनोहरा खोला किनारमा रहेको दिब्यश्वरी प्लानिङ नजिकै रहेको अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएको छ। सो फर्ममा रहेका ५०० वटा हाँस , २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ। थिमिकै वडा नं. १ मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरेको छ। माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको छ।

यस्तै, थिमी नगरपालिका वडा नं. २ सानोठिमी मनोहरा खोला किनारमा रहेको दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका पेमा तामाङको टहरामा पनि पानी पसेको छ। सो स्थानबाट २६ बोरा चामलमा पानी पसी क्षति भएको र कुखुराको ४५ वटा चल्ला बगाएको प्रहरीले जनाएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img