spot_img

पात्रहरुका पाना पल्टाउँदा : नलेखेरै बिलाए होलान् कयौं कथाका पात्रहरु…

केही समय यता एउटा ‘घेराबन्दी’मा अल्झिरहेछु।

स्वच्छन्दबाट बँधुवा हुनुको अर्थ रहेछ – एकोहोरिनु। 

थाहा छ – तथ्याङ्कले भावनाको भाव बुझ्दैन। गणीतीय हिसाब-किताबबाट मनोभावको मूल्य निकाल्नु कसरी?

तिनमै रन्थनिँदै गर्दा हात पर्‍यो ‘पात्रहरु’।

असरल्ल छन् पात्रहरु। लेखाई उस्तै मनमोजी – बेढङ्गी नै भन्लान् भाषाशास्त्रीले। त्यसको नि अर्थ के नै छ र? तर्क सेतो र कालोमात्र हुन्छ भन्ने होइन। दुवै मिसिएको खैरो पनि त हुनसक्छ।    

‘६ अर्ब मान्छेका जीवनमा ६ अर्ब नै उपन्यासका प्लट छन्। …कम्तिमा २४ अर्ब नाटकका विषय छन्।’

आखिरिका पान्नातिर सोझिँदा यी वाक्यले टक्क अड्यायो। कथा कोसँग छैन?

सञ्जय लेख्छन् – ‘नलेखेरै बिलाए होलान् कयौं कथाका पात्रहरु।’

असहमत हुने ठाउँ छैन। अनि यी सञ्जय घिमिरे को हुन् त?

एउटा अर्को पात्र। कुनै बेलाका पत्रकार। कास्कीको मुडुली डाँडामा हुर्किएको अल्लारे केटो। काठमाडौंमा संघर्षसहित खारिएको। पछि अमेरिका भासिएको।

अनि यी पानाहरु पल्टाइरहँदा उनी एक लेखक। उनकै पुस्तक ‘पात्रहरु’।

लेखक एकमै अनेक छन्। अब उनको माथिको हिसाबलाई जति गुना पनि बनाउन पनि सकिने छ – किनकि पत्रपत्रमा पात्रहरु छन्।

गएको शनिवार नक्सालमा उनको पुस्तक लोकार्पण हुँदा पत्रकार देवेन्द्र भट्टराईले सञ्जयमाथि रोचक किस्साहरु पस्केका थिए। ‘पात्रहरु’मा ती विषय छैनन् जुन देवन्द्रसँगै विष्णु निष्ठुरी र धर्मेन्द्र झाले सुनाएका थिए।

मुडलीडाँडादेखि अमेरिकाको सानफ्रान्सिस्कोसम्मका पात्रहरु। तीनका जीवनका छोटा हिस्सा उन्दै सञ्जयले निचोरेको तथ्य हो – कास्कीको देउराली, काठमाडौं र सानफ्रान्सिस्को, टेन्डोरलोइन, जहाँ पनि मान्छेका संवेदना, भाव, उत्तेजना, छटपटी, दु:ख वा सुखबोधका तरिका उस्तै छन्।

जीवनका रङ्गहरुलाई सञ्जयले सजिला शब्दमा व्याख्या गरिदिएका छन्। दर्शन त जताततै ! पात्रसँगै जीवन दर्शन यसरी घोलेका छन् कि त्यो सप्तरङ्गीमै सीमित छैन। सानफ्रान्सिस्कोमा रहँदा पनि उनी मुरली डाँडामा हराएका छन्। अभाव, संघर्ष, अशिक्षासँगै ज्ञानको तुलना गर्छन् उनी। खुशी हुनेहरु जुनसुकै परिवेशमा खुशी नै छन्। नहुनेहरु जहाँ पनि दु:खी। नेपाल होस् या अमेरिका – मनोदशा उही।

भनिसकेँ नि पात्रहरुका पत्रपत्रमा – दर्शन फुरेका छन्।

लेख्छन् – ‘गाउँका मान्छे काँचो माटो जस्तै हुन्, जो भाँडा बनेपछि बजारतिर बिक्री हुन निस्किन्छन्।’     

सरकारी शिक्षा लिने गाउँको विद्यार्थी पात्रका रुपमा सञ्जय आफैँ छन्। अरु पात्र केलाउँदा केलाउँदै उनी आफैँ पात्र बनिरहेका।

स्कुले जीवनलाई जोड्दै लेख्छन् : गणित बिग्रिएको सुरुमै थाहा हुन्थ्यो, अंग्रेजी बिग्रिएको त फेल भएपछि मात्रै।

त्यही सन्दर्भमा जोडिएका छन् छात्रालाई स्कुले जीवनमा शिक्षकले गर्ने व्यवहार। नैतिकहीन शिक्षकले नैतिकता पढाउने विषय कति गम्भीर?

‘स्कुल पुग्ने बाटा थाहा थिए। तर स्कुलबाट कहाँ पुगिन्छ, थाहा थिएन।’

जीवनका गोरेटोलाई तिनै अनिश्चिततासँग जोड्छन् सञ्जय।

ज्ञान र अज्ञानतामा पनि उसैगरी विचरण गर्छन् उनी। लेख्छन् – अज्ञान हुँदाको आनन्द, सायद ज्ञान प्राप्त गर्न खोज्दा पाइँदैन।

पात्रहरुमा म के पढिरहेको छु थाहा छैन। कथा छ। नाटक पनि। कविता त कति कति। ‘एनेक्डोट्स’ यति छन् कि जुन देख्यो त्यही ट्विट गरिहालौं कि जस्तो।


अब यहाँ कि म छु, कि मेरा डिभाइस छन्।

म र तिमी। अर्थात् म र मेरो डिभाइस।

सुत्ने तिनैसँगै, उठ्ने तिनैसँग।

हग्दा त एक्लै हुन दिँदैनन् तिनले, बाँकी अरु बेलाका के कुरा गर्नु?


जीवन दर्शनलाई उनले निक्कै भावनात्मक हिसावले पोखेका छन् शब्द शब्दमार्फत्। अघिल्लो दिनसम्म राजा भनेका मानिसलाई भोलिपल्ट शव भन्नुपरेको प्रसङ्गले नलेखे पनि – दरबार हत्याकाण्डलाई बुझाइहाल्छ। त्यतिखेर सक्रिय पत्रकारितामा थिए सञ्जय। राजाहरुको सान देखेका उनले अनि शब्दमा यसरी उतारेका छन् –

अघिल्लो दिन ती आफैँ आगो थिए, भोलिपल्ट ती आफैँ आगोमा परे। अघिल्लो दिन उनले चाहे जो कोही खरानी बन्न सक्थ्यो, भोलिपल्ट आफैँ खरानी बने।

मानिसमा हुने अतृप्त तृष्णाका सन्दर्भ पात्र पात्रका कथाबाट बुझाएका छन् उनले।

अध्यात्मिक चेत उच्च छ लेखनमा। वाक्य वाक्यमा त्यसको झल्को मिल्छ।

सानफ्रान्सिस्को। एप्पलदेखि फेसबुकसम्म। हामीले चिनेको त्यही नै त हो। उनले त्यहीँ भित्रका यति धेरै पात्रबाट उदाङ्गो पारिदिएका छन् – जीवनहरु। बिल्कुल कल्पनाभन्दा बाहिरको अमेरिका।

टेन्डरोलइन।

सडक मानिस।

ड्रग्स

अल्कोहल

अनि सेक्स।

जो बाइडेनको परिवारकै सदस्यदेखि नेपालबाट पढ्न भन्दै पुगेका शिवजीसम्म अटाउँछन् – टेन्डरलोइनको सिक्स्थ स्ट्रिटका गल्लीहरुमा।

होटल अकवुडमा अटाएका पात्रहरु को कतिखेर मरिसकेको हुन्छ पत्तो हुन्न। लेखक त्यही होटलको व्यवस्थापनमा खटिँदाका सन्दर्भहरुले सिरिङ्ग गराउँछ।

अनि अमेरिकालाई उनी चित्रण गर्छन् – यो देश चुपचाप मृत्यु हुनेहरुको देश हो कि क्या हो? नेपालतिर त मृत्युको हल्ला हुन्छ।

गम्भीर सन्दर्भमा जोडिएका हाँस्यासपद घटना पनि उनले बुनेका छन्। सञ्जयले २० डलरमा आफ्नो पिसाब बेचेको किस्सा अनौठो लाग्छ। अनि लाग्छ उत्तिकै मर्मस्पर्शी।

‘पिसाब मात्र होइन, पिसाबसँगै झुट पनि किनबेच हुन्छ। यो ठाउँ यस्तै छ।’

पात्रहरुको निजी जीवनलाई धेरै खोतल्दैनन् लेखक। उनीहरुको जीवन उनीहरुकै मर्जी।

पात्रहरु राम्रा वा नराम्रा कस्ता हुन्? सञ्जयलाई त्यसको पनि वास्ता छैन। उनले जीवनमा जस्ता पात्र भेटे तिनका केही अंशहरु पस्किए। दर्शनलाई उनले गहन रुपले बुझे। र त न्यायाधीश बन्न चाहेनन् पात्र र प्रवृत्तिमाथि।

पात्रहरुको खोजमा उनी नेपालदेखि अमेरिकासम्म पुग्दाको निचोड के त?

अज्ञानको भौतिक स्वरुप छैन भन्छन् उनी। ब्रम्हाण्डमा ज्ञान वा पूर्ण ज्ञान नै नरहेको तर्क गर्छन्। अर्ध ज्ञानमा बाँचेको स्वीकार्छन्। मुडुलीडाँडादेखि काठमाडौं हुँदै सानफ्रान्सिस्कोसम्म भेटिएका पात्रहरुपछि उनको निचोड छ – कुरा मान्छेको होइन, चेतानाको रहेछ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img