काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग संसद्को यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन्। उनले महाअभियोगको विषयलाई संसद्बाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन्।
प्रतिनिधिसभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसद्मा छलफल गरी महाअभियोग समितिमा संसद्बाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने उनले बताइन्। उपसभामुख भुसालले संसद्बाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन्।
जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसद्मा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन्। उनले संसद्मा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘समितिले छिटो भन्दा छिटो छलफल गरेर आफ्नो कामहरु, कार्यविधिहरु बनाएर यो विषयलाई टुंग्याएर अघि बढाउने कामहरु हुन्छ। त्यो भन्दा पहिला संसद्मा यसलाई छलफलको विषयवस्तु बनाउनेतर्फ छिटै अघि बढ्छ। यही अधिवेशनमा कार्यसूचीमा आएर यो विषय अघि बढ्छ।’
उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसद्को आयु रहने बताइन्। उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसद्बाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसद्को आयु रहने बताइन्।
‘संसद्मा सबै किसिमका व्यवस्था हुनुपर्छ कि भन्ने मेरो आफ्नो व्यक्तिगत मान्यता पनि हो। मनोनयनको दिन सबै सांसदहरुको पनि अवधि सकिन्छ। सभामुख र उपसभामुखको लागि संविधानले गरेको कल्पना नै सबै सांसदका लागि हो। यो नयाँ व्याख्या पनि हो। सबै सांसद र संसद्को लागि यो भयो भने भोलिको लागि यो नजिर बन्नसक्छ।,’ उनले भनिन्।
उपसभामुख भुसालले सबै सांसद र संसद्को लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र बहस भइरहेको बताइन्।