काठमाडौं : नेकपा (एमाले)का सांसद डा भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्।
सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताए। उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानुनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताउनु भयो।
सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानुनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे। सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप लगाए।
सांसद रावलले भने, ‘राज्य साझेदारी कार्यक्रम अमेरिकासँगको सहकार्यदेखि लिएर एमसीसी, माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको छ सरकारले कुनै हिच्किचाहट नगरी। दुई वर्ष म्याद थपेको छ। त्यसकारण यो शपथ ग्रहणमा यस्ता पदमा बसेका व्यक्तिहरुले संविधानको यसरी ठाडो उल्लंघन गर्ने, संविधान मिच्ने, राष्ट्रिय स्वाधिनतामाथि सोझै प्रहार गर्ने, देशका प्राकृतिक साधनश्रोत अरुलाई जिम्मा लगाउने कुरा गर्दा निजहरुलाई कारबाही गर्ने प्रावधान यसमा हुनुपर्छ।’