काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार स्वदेश फर्किएको छ। भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे।
कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै भएको तथा अहिले आएर दोष देखिएको बताए। कप्तान लामिछानेले नेपाली टोलीले आफ्नो कमी कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको बताए।
उता प्रशिक्षक पुबुदु दासानायकेले भ्रमण सोचे जस्तो नभएपनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए। टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ।
आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्क श्रृंखला खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेका थियो। जस अन्तर्गत नेपालले एक खेलमा सुखद् नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो।
नामिबियासँगको दुई खेलमध्ये दुवैमा नेपाल पराजित भएको थियो भने घरेलु टोलीसँगको पहिलो खेलमा नेपालले सुखद् नतिजा निकाल्दा अन्तिम खेलमा पराजित भएको थियो।
श्रृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो। तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ।
तालिकाको शीर्षस्थानमा रहेको ओमनले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानको स्कटल्याण्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौँथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवान्युगिनी (पिएनजी)ले २० खेलबाट २ अंक जोडेका छन्।