spot_img

कांग्रेसमा तीन समिति गठन : थापा, ढुंगाना र घिमिरे तोकिए संयोजक, भ्रातृ संस्थाबारे के – के भयो निर्णय?

काठमाडौं : नेपाली कांग्रेसले विभिन्न तीन समिति गठन गरेको छ। असार २७ बाट शुरु भएको केन्द्रीय समितिले सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गरेको हो।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकको जिम्मेवारी महामन्त्री गगन थापालाई तोकिएको छ। त्यसैगरी केन्द्रीय अनुशासन समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालाई तोकेको छ। त्यसैगरी केन्द्रीय लेखा समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पाएका छन्। सभापति शेरबहादुर देउवाको प्रस्तावमा तीनै संयोजक तोकिएको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

समितिलाई सभापति देउवाले आवश्यक परामर्श गरी पूर्णता प्रदान गर्ने बताइएको छ।

केन्द्रीय समितिले पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले कमा प्रस्तुत गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन’ र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले प्रस्तुत गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन’ लाई अनुमोदन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी उक्त दुबै प्रतिवेदनहरुलाई अनुमोदन गर्ने निर्णय भएको कांग्रेसले जारी गरेको निर्णयमा भनिएको छ।

तीन संगठनलाई भ्रातृ संस्थाको मान्यता

कांग्रेसले तीन विभिन्न जातीय संगठनलाई भ्रातृ संस्थाको मान्यता प्रदान गरेको छ। यसरी मान्यता प्राप्त संगठनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघ रहेका छन्।

यस अघि नै पार्टीको भ्रातृ संघको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ र नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्तर्गत आवद्ध संघको रुपमा रहने कांग्रेसले जनायो। आदिवासी जनजाति भित्र रहेका अन्य जातजातिहरु (थारू बाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्ने निर्णय कांग्रेसले गरेको छ। 

कांग्रेसले नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी नेपाल आदिवासी जनजाति संघका विद्यमान संरचनाहरु स्वतः निष्क्रिय हुने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसले पार्टीबाट मान्यता प्राप्त उल्लेखित भ्रातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रले अन्तिम रूप प्रदान गर्ने जनाएको छ।

अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने कांग्रेसले जनायो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img