काठमाडौं : देशभरका विभिन्न स्थानमा तापक्रम बढ्दो छ। यद्यपि वर्षा भने हुन सकिरहेको छैन। काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ।
हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। सोमवार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो।
राती देशभर आंशिकदेखि सामान्य बदली रहने र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। ‘देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाको मौसम बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’