spot_img

चीनको नेपाल नीति : अमेरिका रोक्न कांग्रेस फकाउने कम्युनिस्ट मिलाउने

काठमाडौं: चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियानचाओ चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। मेको अन्तिममा विभागको मन्त्रीको रुपमा नियुक्त भएका लिउले नेपाल भ्रमण अगाडि नै नेपाली राजनीतिक दलका नेतृत्वसँग भर्चुअल रुपमा छलफल गरिसकेका थिए। लिउको यो भ्रमण गत मार्चको अन्तिममा चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको भ्रमणपछिको उत्तरबाट भएको उच्चस्तरीय भ्रमण हो।

उत्तरी छिमेकीबाट लगातार उच्च अधिकारीहरुको नेपाल भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। अर्कोतिर चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको देखाउँछ।

लिउको यो भ्रमण नेपाल प्रति चीनको चासो, प्राथमिकता र शंकाकाबीच सम्पन्न भयो। पछिल्लो समय अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट कम्प्याक्ट (एमसीए कम्प्याक्ट) प्रतिनिधि सभाबाट पारित हुनु, अमेरिकी सैन्य साझेदार कार्यक्रम नेसनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को चर्चा, अमेरिकी तिब्बत मामिलासम्बन्धी संयोजकको नेपाल भ्रमण हुनुले नेपाल प्रति चीनको चासो र चिन्ता बढ्दो छ। यही सन्दर्भमा नेपाल आएको लिउ नेतृत्वको टोलीको त्यही सन्देश दिएर फर्किएको छ।

अमेरिकी प्रभाव रोक्न चिनियाँ रणनीति : कम्युनिस्ट मिलाउने, कंग्रेस मनाउने

नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीको बढी चासो भनेको नेपालमा बढ्दो अमेरिकी प्रभाव हो। यो भ्रमणको मुख्य उद्देश्य अमेरिकी प्रभाव रोक्नु रहेको भ्रमणबारे जानकार बताउँछन्।

विशेष गरि चीनले नेपालले एमसीसी अनुमोदन गरेको विषयलाई गम्भीरतापूर्ण लिएको थियो। अर्कोतर्फ एसपीपीमा नेपाल सहभागी नहुने निर्णयको चीनले स्वागत गरेको छ। त्यस्तै मेमा भएको अमेरिकी उपमन्त्री तथा तिब्बत मामिलासम्बन्धी विशेष संयोजक उज्रा जोयाको नेपाल भ्रमणप्रति चीनले चिन्ता व्यक्त गरेको थियो। नेपालमा रहँदा उनी तिब्बती क्याम्पमा पुगेकी थिइन्। उनको यस्तो गतिविधि नेपालले नरोकेको प्रति चीनले चासो देखाएको थियो। 

नेपाल आएका लिउले नेपालमा राजनीतिक भेटवार्ता गर्दै तिनै चासो र चिन्ता दोहोर्‍याएका छन्। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यदेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालसँग भेट गरे। त्यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गरे।

मन्त्री लिउले नेपाल भ्रमणका क्रममा नेपाली कांग्रेससँग टुटेको कडीलाई जोड्न चाहेका छन्। उनले सीपीसीले नेपाली कांग्रेससँग रणनीतिक सञ्चार बढाउन चाहेको बताएका छन्। ‘विश्व शताब्दीकै दुर्लभ परिवर्तनबाट गुज्रिरहेको र विश्व उथलपुथलको युगमा प्रवेश गरिरहेको ऐतिहासिक अवस्थामा आपसी सिकाइ, र एकअर्काको मुख्य चासो र प्रमुख मुद्दाहरूमा सीपीसीले नेपाली कांग्रेस पार्टीसँग रणनीतिक सञ्चार सुदृढ गर्न, आपसी लाभकारी सहयोग प्रवर्द्धन, आदानप्रदानलाई प्रगाढ बनाउन इच्छुक चाहन्छ,’ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि चिनियाँ विदेश विभागले जारी गरेको स्टेटमेन्टमा मन्त्री लिउलाई उदृत गर्दै लेखिएको छ।

भेटमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा भएको नेपाल भ्रमणका बेला गरिएका महत्त्वपूर्ण समझदारीलाई कार्यान्वयन गर्न एक अर्कालाई सहयोग गर्नुपर्ने बताएका छन।

‘चीन दुई देश र जनताको हितका लागि आगामी पुस्ताको विकास र समृद्धिका लागि चीन-नेपाल मित्रतालाई रणनीतिक साझेदारीको दिशामा अगाडि बढाउन चाहन्छ,’ उनले भनेका छन्। उनेल सत्ताभित्र र बाहिरका सबै दलसँग चीनले मित्रता चाहेकोसमेत बताएका छन्।

‘नेपालसँगको सम्बन्धलाई सरकार वा बाहिर रहेका सबै दलसँगको आपसी समझदारी र जनताको आकांक्षासँग जोडिएको कुरामा चीन विश्वास गर्छ। चीन र नेपालबीचको उच्चस्तरको राजनीतिक पारस्परिक विश्वास दुई देशको परम्परागत मित्रता र व्यापक साझा हितबाट मात्र नभई द्विपक्षीय सम्बन्धमा दुई देशका राजनीतिक दलहरूले खेलेको महत्त्वपूर्ण भूमिकाबाट पनि अविभाज्य छ,’ विदेश विभागको वक्तव्यमा उल्लेख छ।

उनले नेपालसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन परिप्रेक्षबाट हेररहेको र सोही अनुसार विकास गर्न चाहेको उल्लेख गरेका छन्। त्यस्तै चीनले नेपालसँग सँधै मैत्री नीति अंगीकार गर्दै नेपालका सबै राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकास गरेको उनको भनाइ थियो।

कंग्रेससँगको सम्बन्ध विस्कारको कडीको रुपमा नेता लिउ नेतृत्वको टोली मंगलवार सुन्दरीजल पुगेर वीपी संग्राहलयको अवलोकन गरेको थियो। 

त्यस्तै भेटमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसले सीपीसीसँगको मैत्रीपूर्ण सम्बन्ध विकासलाई ठूलो महत्त्व दिएको छ बताउँदै नेपाल–चीन सम्बन्धको गहिरो विकासका लागि दुई पार्टीबीचको आदान-प्रदान र सहयोगलाई अझ प्रगाढ बनाउन आफ्नो पार्टी तयार रहेको बताएका थिए।

पढ्नुस्: नेपालप्रति चिनियाँ चासो  र प्राथमिकता : सीपीसीका विदेश विभाग प्रमुख काठमाडौंमा

‘सक्नुहुन्छ भने मिल्नुस, हस्तक्षेप गर्दैनौँ’

यता नेपालका कम्युनिस्ट नेताहरुसँगको भेटमा चिनियाँ नेता लिउले नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकताको विषयमा चासो दिएका थिए।

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनालसँगको भेटमा नेपालका कम्युनिस्ट पार्टीबीचको एकताको सम्भावनाबारे चासो राखेको ती भेटमा सहभागी नेताहरु बताउँछन्।

‘तपाईँहरु मिल्ने सम्भावना छ कि छैन। नेपालको हितका लागि तपाईँहरु मिल्दा राम्रो हुन्थ्यो। यसले दुई देशबीचको सम्बन्धमा पनि सकरात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उहाँहरुको चासो थियो,’ यी भेटमा जानकार एक नेताले पहिलोपोस्टसँग भने, ‘यति चाहँदै पनि उहाँले कम्युनिस्टहरुको एकतामा चीनले हस्तक्षेप नगर्ने र यो नेपाल र नेपालका कम्युनिस्टहरुको आन्तरिक मामिला भएकोसमेत बताउनुभयो।’

एमाले अध्यक्ष ओलीसँगको भेटमा लिउले नेपालका कम्युनिस्ट पार्टीहरुको मिलाप र एकीकरणको कुरा आन्तरिक कुरा भएकोले चीनले यसमा कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको भेटमा सहभागि एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। 

ओलीसँगको भेटमा सीपीसीले नेकपा (एमाले) सँग उच्चस्तरीय भ्रमणको आदान-प्रदान तथा व्यवहारिक साझेदारीलाई अगाडि बढाउन चाहेको बताएका थिए। सो भेटमा लिउले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको र ताइवजान, तिब्ब्त, सिनचियान, हङकङ मामिलामा चीनको पक्षमा समर्थन जनाएको भन्दै धन्यवादसमेत दिएका थिए। उनले नेपालको सार्वौभौमिकत, स्वतन्त्रता, भौगोलिक अखण्डता रक्षामा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको सीपीसीको विदेश विभागले जनाएको छ।

त्यस्तै प्रचण्डसँगको भेटमा पनि नेता लिउले कम्युनिस्टहरुको एकता लगायतका विषयलाई चासोका साथ राखेका थिए। उनले चीनको नेपालसँगको मित्रता क्षणिक नभई दीर्घकालीन नीति अनुरुप रहेको बताएका थिए। साथै उनले चीनको  मुख्य चासोलाई नेपालले निरन्तर समर्थन गरेको भन्दै नेपाललाई धन्यवाद दिएको विदेश विभागको वक्तव्यमा उल्लेख छ। यद्यपि विदेश विभागले ‘मुख्य चासो’ के हो भन्ने  उल्लेख नगरे पनि चीनले नेपालको राष्ट्रिय अवस्था सुहाउँदो विकास, राष्ट्रिय सार्वौभमिकता र भौगोलिक अखण्डता रक्षामा साथ दिनेसमेत प्रतिवद्धता जनाएको छ। यसले अप्रत्यक्ष रुपमा चीनको चासो एक चीन नीति र नेपाली भूमि आफ्नाविरुद्ध प्रयोग नहोस् भन्ने चाहना रहेको स्पष्ट हुन्छ।

साथै लिउले माओवादी केन्द्रसँग पनि रणनीतिक सञ्चारलाई अगाडि बढाउन चाहेको बताएका छन्। 

यसैबीच एकीकृत समाजवादीका नेताहरुसँगको भेटमा पनि दुई देशबीचका कम्युनिस्ट पार्टीहरुको विषयमा चर्चा भएको छ। अध्यक्ष नेपालले नेपालका कम्युनिष्ट र चीनको कम्युनिष्ट पार्टी तथा जनवर्गीय संगठनका बारेमा पनि कुरा भएको बताए।

चिनियाँ पक्षबाट चीनविरुद्ध नेपाली भूमिको प्रयोग नहोस् भन्ने चासो व्यक्त गरिएको भन्दै नेता नेपालले आफूले कुनै देशलाई चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको जानकारी दिए।

चिनियाँ पक्षले नेपालका विभिन्न राजनीतिक दलहरुसँग सीपीसीको सम्बन्धलाई बलियो बनाउन चाहेको उनले बताए। नेता नेपालले विदेश विभागमा नियुक्त भएसँगै पहिलो भ्रमण नेपालबाट सुरुवात गरेर आफूले नेपाललाई प्राथमिकतामा राखेको सन्देश नेता लिउले सुनाएको जानकारी दिए।

‘नेपाललाई पहिलो महत्व दिएको कुरा पनि गर्नुभएको छ। कुरा अत्यन्त राम्रो भएको छ। सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेका छौँ,’ नेता नेपालले भने, ‘एकतामा नै बल हुन्छ, एकतावद्ध भएर नै कम्युनिष्ट पार्टीहरु अघि बढुन् भन्ने कुरा उहाँले राख्नुभयो। चीनको सुरक्षा चासोका बारेमा हामीले स्पष्ट पार्ने काम गरेका छौँ।’

बीआरआईबारे चासो

यसैबीच नेपालमा भएका भेटमा नेता लिउले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परियोजनाका विषयमासमेत चासो राखेका छन्। उनले सबै भेटमा चीनका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय समझदारी कार्यान्वयनका विषयमासमेत चासो राखेका थिए।

नेपालका तर्फबाट प्रधानमन्त्री देउवाले चीनले नेपालमा कोभिड-१९ विरुद्धको लडाइमा पुर्‍याएको सहयोगलाई धन्यवाद दिँदै संयुक्त रुपमा ‘बीआरआई’ निर्माणमा साझेदारी गर्न चाहेको बताए। उनले पारस्परिक लाभ र जीत-जीत परिणाम प्राप्तिका लागि चीनसँग मिलेर काम गर्न चाहेकोसमेत बताएका थिए।

भेटमा प्रचण्डले दुई देशबीचको सम्बन्ध विकासमा सदैव सहयोग पुर्‍याउने बताउँदै बीआरआई परियोजना अन्तर्गतका आयोजनालाई अगाडि बढाएर हिमालय आरपार त्रिआयामिक सम्पर्क सञ्जाल विस्तारमा योगदान पुर्‍याउने प्रतिवद्धता जनाए। ओलीले पनि बीआरआई कार्यान्वयनमा प्रतिवद्धता जनाएका थिए।

प्राथमिकतामा नेपाल

पछिल्लो समय अमेरिकाले चीनलाई रोक्ने रणनीति अनुरुप सबै उपाय अपनाउँदै गर्दा नेपाललाई पनि प्राथमिकतामा राखेको छ। अमेरिकी ट्रम्प प्रशासनको चीनप्रतिको नीतिलाई बाइडेन प्रशासनले समेत थप अगाडि बढाउँदै लगेका छन्। विश्व व्यवस्थालाई तहसनहस पार्न लागेको आरोप लगाउँदै अमेरिकाले चीनलाई रोक्न विभिन्न साझेदारीहरुलाई अगाडि बढाएको। त्यही अनुरुप अमेरिकाले नेपाललाई ‘इंगेज’ मात्र होइन प्राथमिकतामा राखेको छ।

‘अमेरिकाले अहिले चीनलाई रोक्न हरेक उपाय अपनाएको छ। एकातिर साइबर वारको अवस्थामा होस वा सैन्य साझेदारी वा विकास साझेदारी सबै उपाय अपनाएको छ। अर्कोतिर चीनका छिमेकी देशमा क्षमता विस्तार गर्दै छ। हिन्द प्रसान्त क्षेत्रमा प्रभाव विस्तार गरेको छ। जमिनबाट पनि चीनलाई घेर्नका लागि नेपाल उपर्युक्त देखिन्छ,’ चीन मामिलाका जानकार डाक्टर बुद्धि शर्मा भन्छन्, ‘अमेरिका अग्रेसिभ भएर आइरहेको छ। हामी (चीन) प्रतिक्रिया मात्र दिएर बस्ने हो भने, हिजो जस्तै ढिलो रेस्पोन्स गर्ने हो भने अमेरिकाको एक्सनपछि मात्र रियाक्सन दिने हो भने अमेरिकाको प्रभाव झन बढ्छ भन्ने बेइजिङको बुझाई छ त्यसैले पनि पछिल्लो समय चीनबाट विदेश मन्त्री वाङ यी आउनु भयो। अहिले विदेश विभाग प्रमुख आउनु भयो। कोभिड-१९ का कारण केही समय भर्चुअल रुपमा डिप्लोमेसीलाई अगाडि बढाएको चीनले पछिल्लो समय फिजिकल्ली अगाडि बढाउन थालेको छ।’

चिनियाँ चासोलाई सम्बोधन गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने शर्मा बताउँछन्। उनले नेपालको भू-राजनीतिक रुपमा संवेदनशील अवस्थितीलाईसमेत ख्याल गर्नुपर्छ। ‘नेपाल सामरिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भएको कारणले हाम्रा लागि दुबै मित्रराष्ट्र महत्त्वपूर्ण हुन्। हामीले यो संवेदनशीलतालाई ख्याल गर्नुपर्छ। हाम्रो नलअलाइन्ड पोलिसी छ। यसलाई ख्याल गरेर हामी अगाडि बढ्नुपर्छ। उनीहरु (चीन) को चासोलाई हामीले सम्बोधन गरिदिनुपर्छ,’ शर्माले भने।    

चिनियाँ नेताहरुले जे भने पनि उनीहरुको मुख्य चासो भनेकै नेपाल चीन विरुद्ध क्रीडास्थल नबनोस् भन्ने रहेको उनको भनाइ छ।

अर्कोतिर बीआरआई लगायतका प्रोजेक्टको विषयमा चीनको चासो रहेको भन्दै नेपालले यसलाई नेपालको आवश्यकता अनुसार अगाडि बढाउनुपर्ने शर्माले बताए। ‘ठूला परियोजना मागेर, ठूलो ऋण तिर ऋणमा पर्नुभन्दा आवश्यकता अनुसारका परियोजना अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘प्रचण्डले चीन सरकारको तर्फबाट नेपाली जनतालाई उपहार हुने खालको एउटा परियोजना आए हुन्थ्यो भनेर भन्नुभयो भन्ने समाचार आएका छन्। यो राम्रो हो। हामीले हाम्रो आवश्यकता र हाम्रो क्षमता हेरेर सहयोग माग्नुपर्छ।’

सम्बन्धित समाचार:

चिनियाँ विदेश मन्त्रीको ३ दिने भ्रमणका ३ सन्देश



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img