spot_img

खानेतेलको भाउ घट्दै, एक सातामा कार्टुनमै ४ सय रुपैयाँसम्म सस्तो

काठमाडौंः लगातार भाउ बढेर उपभोक्ताको भान्सा महँगो बनाएको खानेतेल क्रमिक सस्तिन थालेको छ। एक महिनायता बजारमा मूल्य क्रमिक ओरालो लागेको हो। रुस-युक्रेन द्वन्द्व सुरुवातसँगै मूल्य उच्च भइरहेको थियो।

प्रतिकार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सयदेखि २६ सय रुपैयाँ भएको छ। २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ देखि २३ सय रुपैयाँसम्ममा आइपुगेको छ। तोरीको तेलमा पनि मूल्य घट्दै छ।

गत सातामात्र सूर्यमुखीको तेल प्रतिकार्टुन २८ सय र भटमासको प्रतिकार्टुन २६ सय रुपैयाँसम्म थियो।

यसअघि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले मूल्य बढाएका थिए। एक वर्षअघि प्रतिकार्टुन २१ सय रुपैयाँ रहेको सूर्यमुखीको तेल बढेर ३५ सय रुपैयाँसम्‍म पुगेको थियो। भटमासको तेल प्रतिकार्टुन ३२ सय रुपैयाँसम्म पुगेको थियो।

एक महिनायता भने तेलको मूल्य बिस्तारै घट्दै पुरानै लयमा फर्कन थालेको व्यवसायीहरुले बताएका छन्। अब भटमासको तेल घटेर प्रतिकार्टुन २ हजार र सुर्यमुखी तेल २१ भन्दा कम मूल्यमा आइपुग्ने व्यवसायीहरुको दाबी छ।

उद्योगहरुले आर्थिक वर्ष अन्त्यका कारण तेलको मूल्य घटाउँदै बेचेको हुनसक्ने किराना व्यवसायीहरु बताउँछन्। पहिले उद्योगीहरुले बजारमा तेलको आपूर्तिमा अभाव सिर्जना गर्दै आफूले स्टक राख्दै आएका थिए।

असार मसान्तका कारण पनि बजारमा तेलको मूल्य घटेको हुनसक्ने अनुमान किराना व्यवासयी दुर्गाराज श्रेष्ठले गरे। ‘व्यवसायीहरुले सरकारलाई कर तिर्नको लागि अहिले मौज्दात रहेको तेल सस्तो मूल्यमा बिक्री गरिरहेका हुन्,’ उनले भने।

युक्रेन र रुसका कारण देखाउदै कम्पनीहरुले तेलको मूल्य अत्यधिक बढाएका थिए। त्यतिबेला उद्योगीहरुले कच्चा पदार्थको अर्डरसमेत रोकेको भन्दै खानेतेलको मूल्य हालसम्मकै महँगो बनाएका थिए। लगातार मूल्य उच्च भइरहँदा चानबिनका लागि सरकार दबाबमा परेको थियो।

लागतको अनुपातमा अस्वाभाविक मूल्यवृद्धि गराएकोमा दुई उद्योग जरिवानाको कारबाहीमा परेका थिए। सरकारले आयल मिलहरुको कच्चा पदार्थ आयात र तेल उत्पादनमा परेको लागतको हिसाब हेरेको थियो।

अस्वाभाविक रूपमा बढेको मूल्य घट्नु नै पर्ने किराना व्यवसायी कृष्ण भट्ट बताउँछन्।

अहिले दिनैपिच्छे तेलको मूल्य घटिरहेको छ। असार पहिले हप्तामा तेलको मूल्य घट्ने गरेको भए पनि यतिबेला दैनिक रुपमै घट्दै गएको छ।

के कारणले घट्यो तेलको मूल्य ?

नयाँ उत्पादन आउन थालेपछि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य घट्न थालेको एक आयातकर्ताले बताए। स्थानीय बजारमा खाने तेलको मूल्य धेरै कारणले घटेको उनको भनाइ छ।

यतिबेला वित्तीय समस्याका कारण उद्योगीहरुले तेलको मूल्य घटाएर बिक्री गर्न थालेको उनले बताए।

असार मसान्त नजिकिएका कारण व्यवसायीहरुलाई कर तिर्ने दबाब भएकाले रकम जम्मा गर्नको लागि उत्पादन गरेर राखेको पुरानो स्टक कम मूल्यमा बिक्री गरिरहेको उनको भनाइ छ।

‘यसअघि आयात भएका कच्चा पदार्थ टन्नै स्टक छ। पहिले महंगो परिरहेको कच्चा पदार्थ अहिले सस्तो हुन थालेको छ। त्यसैले चर्को भाउमा बिक्री गरिरहँदा खपत कम हुन्छ,’ उनले भने।

हाल भारततर्फको तेल निकासी नभएपछि तेल डम्प भएर बसेको छ। मागमा कमी र बजारमा उत्पादन धेरै हुँदा लामो समय स्टक बस्ने डर भएकाले नै उद्योगीहरुले हाल भाउ घटाएरै तेल बिक्री गरिरहेका हुन्। बजारमा तेलको मूल्य अझै घट्ने व्यवसायीहरुको अनुमान छ।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img