बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्। सरकारमा सहभागी मन्त्री तथा विभागीय प्रमुखहरुले धमाधम राजीनामा दिएपछि उनले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ।
बेलायती तल्लो सदनमा बहुमत रहेको कन्जरभेटिभ पार्टीका नेताका रुपमा जोनसन प्रधानमन्त्री भएका थिए। उनले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका हुन्।
उनले आफूलाई प्रतिस्थापन गर्ने नेता चयन भएसँगै प्रधानमन्त्रीबाट बाहिरिने बिहीवार घोषणा गरेका हुन्। पछिल्लो २४ घण्टामा जोनसन सरकारका दर्जनबढी मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै उनले आफू अन्तिमसम्म लडेको भन्दै ‘दु:खद’ क्षणमा आएको बताए।
‘यो स्पष्ट भएको छ की कन्जरभेटिभ पार्टीको संसदीय दलको इच्छा अनुसार नयाँ नेता चुनिनेछन… र एउटा नयाँ प्रधानमन्त्री पनि,’ उनले भने।
सम्बोधनका क्रममा उनले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा धन्यवाद दिए। सन् २०१९ को डिसेम्बरमा भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत हात पारेको थियो।
उनले दु:खी हुँदै राजीनामा दिँदै गर्दा भने, ‘मलाई लाग्यो यो मेरो काम हो। मेरो कर्त्वय हो र २०१९ मा हामीले तपाईँसामु बाचा गरेका काम पूरा गर्नु मेरो जिम्मेवारी हो।’
उनले आफूविरुद्ध लागेका आफ्नै पार्टीका सांसदहरुप्रति लक्षित गर्दै अगाडि थपे, ‘बथानको बुद्धि शक्तिशाली हुन्छ। जब बथान अगाडि बढ्छ यो अगाडि बढ्छ।’
उनले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन रहनेसमेत बताए।
उनले नयाँ प्रधानमन्त्री नआउँदा सम्मका लागि प्रधानमन्त्रीकै भूमिका निभाउने छन्। त्यसका लागि उनले सानो मन्त्रिपरिषद् बनाउनेसमेत बताएका छन्। जोनसन सरकारका ५९ सदस्यहरुले राजीनामा दिइसकेका छन्। बुधवार बिहान जोनसन सरकारका स्वास्थ्यमन्त्री साजिद जाभिद र चान्सलर ऋषि सुनाकले राजीनामा दिएसँगै राजीनामाको लहर चलेको थियो।
जोनसनले राजिनामा दिँदै गर्दा उनकी श्रीमती क्यारी जोनसन आफ्नो शिशु काखमा लिएर सँगै उभिएकी थिइन्। सम्बोधनका क्रममा जोनसनले श्रीमतीसहित आफ्ना परिवारका सदस्यलाई धन्यवाद दिए।
जाँदा जाँदै उनले आफू बाहिरिएपनि बेलायत सधैँ युक्रेनी जनताको पक्षमा हुने समेत बताएका छन्।