पर्सा । मधेस प्रदेश सरकार मातहत रहेको जनता आवास कार्यक्रम ‘प्रदेशको लगानी बालुवामा’ पानी भन्ने भनाइजस्तो देखिएको छ ।सरकारका कर्मचारी र दलका नेताहरुले जनता आवास कार्यक्रमबाट दलित निमुखा जनताहरुलाई घरको नाममा ठग्दै गरेको यो पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–४ खेसराहाको मुसहर वस्तीको घटना हो ।
प्रदेश सरकारको कर्मचारी र नेताका ठेकेदारले खेसराहामा निर्माण गराइरहेको ६ वटा जनता आवास घरमा कमसल र दुई नम्बर ईटाबाट घर निर्माण गराइरहेकाले पीडितहरुले आफ्नो दुखेसो पोखेका छन् ।मधेस प्रदेशका कर्मचारी र नेताका ठेकदारहरुले बल– जबरजस्ती कमसल र दुई नम्बर ईटा प्रयोग गरिरहेपछि पीडित दलितहरुले विरोध गर्दा उल्टै ठेकेदारहरुले धम्काउने गरिरहेको पीडितहरुको भनाइ छ । खेसराहाका भरत माझीले भने, ‘जब तल बलियो हुँदैन भने माथि कसरी बलियो हुन्छ ?’, ।
ठेकदारले बल–जबरजस्ती कमसल र दुई नम्बर ईटा धमाधम प्रयोग गराइरहेको उनले गुनासो गरे । प्रदेश सरकारले जनता आवास कार्यक्रममा प्रति घर ३ लाख ३६ हजार रकम पठाएकोमा मधेस प्रदेश सरकारका कर्मर्चारी र नेताका ठेकेदारहरु कमिसन खानको लागि कमसल समग्री र दुई नम्बर ईटा प्रयोग गरिरहेकाले कमजोर हुने अवस्था देखिएको पीडितहरुको भनाइ छ ।अर्का बन्सी माझीले दुई महिना अगाडि जनता आवास निर्माण हुन्छ भनेर आफ्नो फुसको घर भत्काएर अहिले घर बिहिन भएको बताए । यता ठेकेदारले असार महिनामा घर बनाउने कार्य सुरु गरेकोमा कमसल समग्री र दुई नम्बर ईटा प्रयोग भएकाले चिन्ता उनले गरे ।
खेसराहामा ६ वटा घर बनाउन ती ठेकेदार आएकोमा स्थानीय दुःखमा परेको माझीले बताए । अहिले फुसको झुपडीको सट्टा इटाको पक्की संरचना भएको घर पाउने आश्वासन पाएर पुरानो झुपडी भत्काएर उनीहरु बिजोगमा परेका छन् ।पुरानो झुपडी भत्काएर प्लाष्टिक र त्रिपालको ओतमा उनीहरु वर्षा र शीतलहरका बेला झन सास्ती खेप्न बाध्य छन् । तर, निर्माण भइरहेको घरमा प्रयोग भइरहेको कमसल समग्री र दुई नम्बर ईटाले गर्दा यो समग्रीबाट निर्माण भएको घर भोलिका दिनमा खतरा हुने संकेत देखाएका छन् ।
जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका कर्मचारी र कार्यक्रम संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका दलका नेताहरुको नीजी स्वार्थका कारण यो कार्यक्रम समस्या बनाएको छ ।