भारतको महाराष्ट्र विधानसभामा बिहीवार ‘फ्लोर टेस्ट’ हुने भएको छ। यससँगै मुख्यमन्त्री उद्धव ठाकरेको सरकार संकटमा परेको छ। सत्तारुढ शिवसेनाका नेता एकनाथ सिंधेले विद्रोह गरेपछि महाराष्ट्रका राज्यपालले जुन ३० मा विधानसभामा बहुमत परीक्षणका लागि ‘फ्लोर टेस्ट’ गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध उद्धव सरकार सर्वोच्च अदालत पुगेको थियो।
बुधवार राति ९: १५ बजे भारतको सर्वोच्च अदालतले बिहीवारको लागि तय भएको बहुमत परीक्षणको कार्यलाई निरन्तरता दिन फैसला सुनाएको हो। बुधवार दिनभर सर्वोच्चमा महाराष्ट्रमा भएको राजनीतिक उथलपुथलबारे बहस भएको थियो।
सत्तारुढ दल शिवसेनाका विधायकहरु बागी बनेपछि ठाकरे सरकारलाई सत्ता जोगाउन बिहीवार हुने मतदानमा गाह्रो हुने भएको छ। भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रवादी कांग्रेस पार्टीसँग महा विकास अघाडी गठबन्धन गरेको शिवसेना अहिले आफ्नो अस्तित्व जोगाउने क्षणमा पुगेको बताइन्छ।शिंदेले गठबन्धनबाट शिवसेना हट्नु पर्ने अडान लिएका थिए।
उद्धव आफ्नै दलमा अल्पमतमा परेका छन्। २८८ सदस्य भएको महराष्ट्र विधानसभामा शिवसेनाबाट ५५ जना, एनसीपीबाट ५३ जना, कांग्रेसबाट ४४ जना र भारतीय जनता पार्टीबाट १०६ जना विधायक छन्। बहुमत विधायक शिंदेका साथमा छन्। गठबन्धनले शिंदेलाई नै मुख्यमन्त्री बनाउन गठबन्धनले ठाकरेलाई सुझाव समेत दिएको थियो। तर, शिंदेले सो प्रस्ताव अस्वीकृत गरेका थिए।
शिंदेलाई भारतीय जनता पार्टीको समर्थन छ। उनी आफ्नो बागी विधायकसँग भाजपा शासित असाममा बस्दै आएका थिए। गुवाहाटीको एक होटलमा उनीहरु आगामी रणनीति बनाइरहेका थिए। उनीहरुले आफूहरु नै शिवसैनिक भएको बताउँदै आएका थिए। उद्धव ठाकरेले बागी विधायकहरुलाई साथ दिन पटकपटक आग्रह गरे पनि त्यो सफल हुन सकेन। शिंदेसँग गएका बागीहरु एकजुट भइरहे बिहीवार हुने मतदानमा ठाकरेले बहुमत नपाउने निश्चित भएको बताइन्छ। यसबिच उद्धवले मुख्यमन्त्री पदबाट राजीनामा दिन सक्ने समेत बताइएको छ।
बिहीवार हुने मतदानमा सहभागी हुन बागी विधायक मुम्बई आउने तयारीमा जुटेका छन्। फ्लोर टेस्टलाई मध्यनजर गर्दै मुम्बईको सुरक्षा व्यवस्था कडा पारिएको छ। शिव सैनिकहरु बागी उम्मेदवारहरुसँग धेरै आक्रोशित छन्। जसकारण बिहीवारको परिस्थिति सम्हाल्न प्रहरीलाई गाह्रो हुने भन्दै अहिले देखि सतर्कता अपनाउन थालिएको छ।
भाजपाको शासन नभएको राज्यहरुमा सत्ता परिवर्तनको खेल यसअघि पनि हुँदै आएको छ। विपक्षीहरुले भने भाजपा विधायक किनबेचमा लागिरहेको आरोप लगाउँदै आएका छन्।