spot_img

हैजाबारे सूचना संकलन गर्न काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन, यसरी गर्न सकिन्छ घरमै उपचार

काठमाडौंः काठमाडौं महानगरपालिकाले हैजा रोगबारे सूचना संकलनका लागि हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ। सेवा २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ। मेयर बालेन्द्र शाहले ट्वीटरमा हटलाइन सञ्चालनबारे जानकारी दिएका छन्।

महानगरले ११८० मा टेलिफोन गरेर आवश्‍यक जानकारी लिने व्यवस्था गरेको हो।

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाको बिरामीको संख्या बढ्दो छ। हालसम्म काठमाडौँ उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन्।

संक्रमण देखिएका १२ जनामध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन्। चार जनाको भने उपचार भइरहेको उनले जानकारी दिए। हाल उपत्यकाका विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका छन्।

काठमाडौंमा हैजाको चर्चा चलेको महिना दिन भयो। हैजा काठमाडौं हुँदै ललितपुरमा पनि फैलिएपछि ललितपुर महानगरपालिकाले पानीपुरी चटपटेलगायतका ठेलामा बेचिने खानेकुरा बिक्री वितरणमा रोक लगाइसकेको छ। काठमाडौं महानगरपालिकाले पनि हैजा नियन्त्रणका लागि पानीको परीक्षण गरिरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो। उनीहरु बस्ने स्थानको पानीमा दिसाको किटाणु भेटिएको थियो।

उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ।

घरमै उपचार गर्ने पाँच नियम

स्वास्थ्य मन्त्रालयका अनुसार यसरी घरमै उपचार गर्न सकिन्छ।

१) झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने।

२) प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने।

३) नरम तथा सजिलै पच्ने खानेकरा थोरै थोरै गरी पटक पटक खुवाइरहने

४) स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइकन खुवाउने

५) व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने

यद्यपि, स्वास्थ अवस्था बिग्रिँदै गएको खण्डमा भने तुरुन्त स्वास्थ्य संस्‍था लैजान मन्त्रालयले सुझाएको छ।

 

कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने?

• खान पिउन नसक्ने गरी बिरामी भएमा

• दिसामा रगत देखा परेमा

• बारम्बार बान्ता भइरहेमा

• ज्यादै तिर्खाएमा

• ज्वरो आएमा

• धेरै पटक पातलो दिसा गरेमा

 

यसरी बच्न सकिन्छ पखालाबाट

• चर्पीमा मात्र दिसा पिसाव गर्ने

• दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने

• खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने

• पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने

• बासी, सडेगलेको, झिँगा भन्केको खानेकुरा नखाने

• खानेपानीको मुहान सफा र सुरक्षित राख्ने

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img