काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन्। सोमवार एकीकृत समाजवादीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गरे। आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने उनले बताए।
उनले भने, ‘२८ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख मत प्राप्त गर्यौँ भने यदी हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए यो भन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ। कम्तिमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ। २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधिसभा र प्रदेशसभामा केही सिटहरु सुनिश्चित हुनेछ। प्रत्यक्ष रुपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हामीले हासिल गर्न सक्दछौँ।’
अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए। पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उनले जोड दिए।
‘अरुमाथि भरोसा गरेर चल्ने होइन। हामीले आफ्नो शक्ति निर्माण गर्ने कामका लागि १६५ वटै निर्वाचन क्षेत्रमा हामीले अहिलेदेखि नै उम्मेदवार, पार्टी प्रतिनिधि भोलि चुनावमा उठाउनुपर्ने उहाँहरुमध्ये नै हुनेछ। १६५ निर्वाचन क्षेत्रमा हामीले तयारी गर्नैपर्छ। ३३० वटा प्रदेश सभाका सदस्यहरुका निम्ति अहिलेदेखि नै हामीले ठोस जिम्मेवारी दिनैपर्छ। पालिका, वडामा कार्यकर्ता खटाउनुपर्छ। प्रतिनिधिसभा र प्रदेशसभाको पनि समानुपातिक मत चाहिन्छ हामीलाई। समानुपातिकको मतसंख्या बढाउन सक्यौँ भने हाम्रो सिट संख्या पनि बढ्नेछ,’ उनले भने।
अध्यक्ष नेपालले विश्व शक्ति राष्ट्रहरुका बिचमा द्वन्द्वका खतराहरु देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताए। उनले नेपाली जनतामा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरुको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने बताए।
उनले देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको पनि बताए।
उनले भने, ‘हाम्रो पार्टीको जिम्मेवारी देशभक्तिको पक्षमा जनमत तयार गर्ने र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्ने रहेको छ।’
उनले पार्टीको काममा सक्रियतापूर्वक लाग्न र गरेका कामको प्रचार-प्रसार गर्न निर्देशन समेत दिए।