spot_img

वीरगञ्ज यातायात कार्यालयमा बिचौलियाको बादशाही, कार्यालय सहयोगी माली–सिंहको एकछत्र दबदबा

वीरगञ्ज । ढडा निकाल्ने जिम्मेवारी पाएका कार्यालय सहयोगी गौरीशंकर माली (भगत) र चन्द्रमा सिंहले आफ्ना पाँच जना बिचौलियालाई उक्त जिम्मेवारी सुम्पेका छन्। २०८१ साल फागुन २७ गते तत्कालीन निमित्त प्रमुख नितेश्वर यादवबाट प्रमाणित गराई सोको सूचना फाँटमा टाँस गरिएको थियो।

स्रोतका अनुसार, माली र सिंहले यो कार्यबारे अन्य पत्रकार तथा सञ्चारमाध्यमलाई थाहा नहोस् भनी कार्यालयमा ताल्चा लगाउने गरेका छन्। सोही कारण सर्वसाधारणलाई समेत जानकारी नदिई ती बिचौलियालाई भित्रै राखेर सवारीधनीको गैर–उपस्थितिमा आफै दायाँ बायाँ ल्याप्चे लगाई मनपरी ढंगले पास गराउने गरिएको छ। यससम्बन्धी प्रमाण यो अनलाइनसँग सुरक्षित रहेको छ।

यसबाहेक, कार्यालय सहयोगी सिंह हाल मोटरसाइकल फाँटसँगै पटके शाखाको प्रमुखको रूपमा समेत कार्यरत छन्। पटके काट्न आउने सेवाग्राहीसँग तोकिएको राजस्वबाहेक अतिरिक्त ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म असुल्ने गरिएको छ। नियमअनुसार पटके काट्न रोड परमिट अनिवार्य भए पनि, मोबाइलमा मात्र फोटो देखाएर आउने सेवाग्राहीसँग समेत मनपरी रकम असुल्ने गरिएको श्रोतको दाबी छ।

यसअघि पनि माली र सिंहमाथि दीर्घकालीन रूपमा घुस असुली र अकूत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लागेको छ। कार्यालय स्रोतका अनुसार उनीहरूले छ जना बिचौलियामार्फत सेवाग्राहीसँग अनियमित रकम उठाउँदै आएका छन्। ती बिचौलियामध्ये अमर देव सोनल, ध्रुव पटेल, शिवशम्भु यादव, छोटेलाल यादव र सन्तोष कुमार गुप्ता प्रमुख रहेका छन्। उनीहरूलाई कार्यालयभित्रै कुर्सी उपलब्ध गराई सेवाग्राहीसँग मरमोलाइ गराइने गरेको छ।

भुक्तभोगीहरूका अनुसार, बिना बीमाको ब्लुबुक नवीकरणका लागि ५०० रुपैयाँदेखि, सवारी दर्ता तथा नामसारीका लागि २ देखि ३ हजार रुपैयाँसम्म अतिरिक्त रकम असुल्ने गरिएको छ। सेवाग्राही उपस्थित नभएकै अवस्थामा पनि बिचौलियामार्फत श्रेस्ता दर्ता सही–छाप मिलाइने गरेको आरोप छ। उदाहरणका रूपमा “ना ३२ प ३३४५” नम्बरको मोटरसाइकलसम्बन्धी कागजात सञ्चारमाध्यममा सुरक्षित रहेको छ।

मासिक करिब ३० हजार रुपैयाँ तलब बुझ्ने मालीले हेटौँडा उपमहानगरपालिकामा करोडौँ मूल्य बराबरको तीनतले आलिशान घरसहित आधा दर्जनभन्दा बढी जग्गा जोडेको तथ्य सार्वजनिक भएको छ। उनका छोराहरू भारत र काठमाडौंमा अध्ययनरत रहेको र त्यसको खर्च समेत अनियमित आम्दानीबाट धानिएको भुक्तभोगीहरूले आरोप लगाएका छन्।

त्यस्तै, माली र सिंहले “प्रदेश मन्त्रालयसम्म हाम्रो पहुँच छ, केही हुँदैन” भन्दै धम्की दिने गरेको सेवाग्राहीहरूको गुनासो छ। एक बिचौलियाले नाम नखुलाउने सर्तमा भनेका छन्, “माली र सिंह दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म असुल्छन् र त्यसको अंश मोटरसाइकल फाँट प्रमुख प्रेम कार्कीलाई बुझाउँछन्।”

कार्यालयमा प्रमुख अधिकृत प्रेम कार्की, नायब सुब्बा विप्लव भट्टराई, केविन यादवसहित पाँच जना सरकारी कर्मचारी भए पनि, वास्तविक कार्यमा माली र सिंहले आफ्ना बिचौलियालाई प्रयोग गर्दै आएको पाइएको छ। तीमध्ये चार जना अग्रभागमा बसेर रकम असुल्ने र बाँकी दुई जना भित्रै रहेर सनाखत तथा नामसारी प्रक्रिया लेख्ने गर्छन्।

भुक्तभोगीहरूले भनेका छन्, “सार्वजनिक सेवामा बसेर खुलेआम भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कानूनी कारबाही नगरेसम्म यस्तो प्रवृत्ति अन्त्य हुँदैन।” उनीहरूले तत्काल छानबिन गरी माली, सिंह र संलग्न कर्मचारीलाई पदमुक्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण विभागमार्फत कारबाही गर्न माग गरेका छन्।

त्यससँगै, संवेदनशील पदमा बसेर भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गरिएको भन्दै अख्तियारको मौनताप्रति सेवाग्राहीले तीव्र आक्रोश प्रकट गरेका छन्। सभार ज्योति दैनिक

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img