वीरगंज,११ साउन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा २०८१ साल फागुन १५ गतेदेखि संचालनमा आएको मालपोत कार्यालय पोखरियाले छोटो समयमै उदाहरणीय सेवा केन्द्रको पहिचान बनाएको छ। विशेषतः मुद्दा शाखाको सेवा प्रवाह प्रभावकारी, छरितो र पारदर्शी देखिएको छ। यसको प्रमुख श्रेय जान्छ— नायब सुब्बा (ना.सु.) श्री रामरेखा प्रसाद चौरसियालाई, जसले यो शाखाको सम्पूर्ण काम एक्लै सम्हाल्दै आएका छन्।
ना.सु. चौरसियाले कुनै सहयोगी कर्मचारी बिना नै मुद्दा फाँटका सयौं मिसिलहरू समयमै निर्णय गर्दै सेवा लिन आउने नागरिकहरूको विश्वास जित्न सफल भएका छन्। उहाँको कर्तव्यनिष्ठा, अनुशासन, समयपालन र सेवा भावनाले कार्यालयको गरिमा अझै उच्च बनाएको छ। जटिल प्रक्रियाहरूको सहज र समयमै समाधान गर्नु चौरसियाको कार्यसम्पादन क्षमताको परिचायक हो।
यस्तो उत्कृष्ट सेवाको मूलमा कार्यालय प्रमुख श्री रामजी प्रसाद साह कानूको सक्रिय नेतृत्व पनि उत्तिकै प्रभावकारी रहँदै आएको छ। प्रमुख साहको सकारात्मक सोच, सहकार्यको भावना र कुशल व्यवस्थापन शैलीले समग्र कार्यालय वातावरणलाई सहयोगी र जनमैत्री बनाएको छ। नेतृत्व र श्रमको संयोजनले मालपोत कार्यालय पोखरियालाई पर्सा जिल्लामै नमुना बनाइरहेको देखिन्छ।
२०८१ फागुन १५ देखि २०८२ असार मसान्तसम्म मुद्दा शाखाबाट भएका मिसिल निर्णयहरूको विवरण यसप्रकार छ:
नामसारी – २१७
दा.खा. (दार पाँचा खारेज) – १६४
हा.सा. (हक सरसफाइ) – ११९
संशोधन – ३०
फैसला – ५
आजको आधुनिक प्रशासनिक प्रणालीमा कुनै पनि शाखाको सेवा एक जनाको भरमा निर्बाध रूपमा सञ्चालन हुनु सजिलो कुरा होइन। तर पोखरिया मालपोत कार्यालयले ना.सु. चौरसिया र प्रमुख साहको समर्पण, सेवा भावना र उत्तरदायित्वबोधका कारण यो सम्भव बनाएको छ। नागरिकहरू कार्यालयबाट सन्तुष्ट छन्, र पोखरिया मालपोत उदाहरणीय सेवा प्रवाहको प्रतीक बन्दै गएको छ।
यस किसिमको समर्पण र नेतृत्व देशका अन्य सरकारी कार्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्नेछ