spot_img

नेपाल–भारत सीमामा सुरक्षा कडाइ, परिचयपत्र अनिवार्य

बिरगंज । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले दुबै देशका सीमा सुरक्षा अधिकारीहरूबीच भएको बैठकले सीमावर्ती आवतजावतमा सरकारी परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारणस्थित तीनलालटेनमा हालै सम्पन्न उक्त बैठकमा ओहोरदोहोर गर्ने नेपाली र भारतीय नागरिकले अबदेखि परिचय खुल्ने सरकारी कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने सहमति भएको हो।

बैठकमा नेपालका तर्फबाट पर्सा र बाराका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र खुमबहादुर केसी सहभागी थिए। भारतीय पक्षबाट सीमा सुरक्षा बल (एसएसबी) का ४४ र ४७ नम्बर बटालियनका अधिकारीहरू सहभागी थिए।
पहिले हवाई तथा रेलमार्ग प्रयोग गर्ने यात्रुहरूका लागि मात्र परिचयपत्र अनिवार्य थियो। तर खुला सीमाबाट, विशेषतः सीमावर्ती बजार क्षेत्रहरूमा, मानिसहरू सजिलै आवाजजावत गर्दै आएका थिए। अहिलेको निर्णय अनुसार अब खुला नाकाबाट पनि परिचयपत्र देखाएर मात्र सीमा पार गर्न पाइनेछ।

दुवै देशका सुरक्षा अधिकारीहरूले यो कदम सीमा सुरक्षालाई थप कडा बनाउने र अवैध क्रियाकलापमा संलग्न हुनेहरूलाई रोक्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार, मानव तस्करी तथा अन्य आपराधिक गतिविधिहरूमा वृद्धि हुँदै आएको छ। यस्तो अवस्थामा आवतजावतमा कडाइ गर्नु अपरिहार्य भएको अधिकारीहरूको भनाइ छ।

स्थानीयवासीले यो निर्णयले केही असहजता ल्याउन सक्ने बताएका छन्, तर दीर्घकालीन सुरक्षाका लागि यो कदम आवश्यक र प्रभावकारी हुने जनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img