spot_img

नेपाली फुटबल टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने, कार्यवाहक मुख्य प्रशिक्षकमा हुमागाईं

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको बैठकले बंगलादेशसँग मैत्रीपूर्ण खेलको मिति तोकेको हो।

बोर्ड बैठकको उक्त खेलका लागि प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने समेत निर्णय गरेको छ। यद्यपि नियमित प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा भने निर्णयमा कुनै कुरा उल्लेख छैन।

निर्वाचनताका खेलाडी प्रशिक्षक विवादपछि पहिलो रोजाइमा खेल्दै आएका खेलाडीलाई अलमुताइरीले टिमबाट निकालेका थिए। त्यतिबेला वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको यसै प्रकरणमा आलोचना गर्दै चुनावमा होमिएको थियो। त्यसयता पहिलो कार्यसमितिको बैठकले अलमुताइरीसँगको विवाद समन्वयका लागि महासचिव किरण राईलाई जिम्मेवारी दिएको थियो।

सोही बैठकमा बाहिर राखिएका खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय समेत गरिएको थियो। त्यसबीचमा अलमुताइरीले बाहिरिएका खेलाडीमध्ये अञ्जन विष्ट र तेज तामाङलाई टिममा समेट्दै एन्फामा पत्र पठाएका थिए। लगत्तै अलमुताइरीले आफ्नो इमेज बिगार्न एन्फा लागेको भन्दै फिफा र एएफसीमा जाने दाबी गरेका थिए। त्यस्तै उनले खेलाडीसँगको विवादबारे बनेको समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै जेनेभामा रहेको आफ्नो वकिलसँग समन्वय गरिरहेको बताएका थिए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img