रौतहट, ५ असोज । तरकारी बोक्ने गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । प्रहरी चौकी रामपुरखापको टोलीले शनिवार राति इशनाथ नगरपालिका –८ मोतिपुर सडकखण्डबाट तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जनाएको छ । मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारत जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीबाट प्रहरीले २६ वटा पोकामा रहेको ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । प्रहरीलाई देख्ना साथ गाडीचालक भागेपछि चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागुऔषध गाँजा भेटिएको प्रवक्ता प्रनाउ कार्कीले बताए । गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएर गाडी चालकको खोजी भइरहेको जिप्रका, रौतहटले जनाएको छ ।