जेठ, २ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको उक्त सडकको स्तरोन्नति हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।
स्थानीयवासीको लामो प्रतीक्षा र मागपछि शुरु गरिएको पिच निर्माण कार्यको आज बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साहले स्थलगत अनुगमन गरेका हुन् । सडकको गुणस्तर, कामको प्रगति र स्थानीय जनताको सन्तुष्टिलाई ध्यानमा राख्दै मेयर साहले निर्माण कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद पनि गरेका थिए ।
मेयर साहले भने, “यो सडक बहुदरमाई नगरपालिकाको जीवन रेखा हो । यसलाई आधुनिक शैलीमा कालोपत्रे बनाउने र दुवै किनारामा नाला निर्माण गर्ने काम भैरहेको छ । हामी गुणस्तरीय निर्माणमा कुनै सम्झौता गर्ने छैनौं ।”
सडक निर्माणले बिश्रामपुर, भौराटार, डौकैला लगायतका बस्तीहरूलाई नगरको मुख्य व्यापारिक केन्द्रहरूसँग सहज पहुँच दिलाउने नगरपालिकाको भनाइ छ । वर्षा याममा हिलो र धूलोका कारण अत्यन्तै सास्ती झेलेका स्थानीयवासी अब सजिलै हिँडडुल र यातायात सेवा लिन सक्ने अवस्था आएको भन्दै खुसी व्यक्त गरेका छन् ।
स्थानीय रामअसरे साह तेलीले भने, “पहिले यहाँको सडकको अवस्था अत्यन्तै खराब थियो, एम्बुलेन्स जान पनि मुस्किल पथ्र्यो । अहिले पिच बन्न थालेपछि हामीले साँच्चै विकास अनुभूति गरेका छौं ।”
सडकसँगै दुवैतर्फ नाला निर्माण भइरहेकोले वर्षायाममा पानी जम्ने समस्या पनि समाधान हुने नगर प्रमुख सिंगासन साहले जानकारी दिए । बहुदरमाई नगरपालिकाले आगामी वर्षहरूमा पनि प्राथमिकताका साथ यातायात पूर्वाधारलाई सुदृढ बनाउने रणनीति अघि सारेको छ ।
निर्माण कम्पनीले गुणस्तरको काम गर्ने प्रतिबद्धता जनाउँदै सडक निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्ने जनाएको छ ।