संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रमोद जयसवाल आज पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर २ स्थित लमरियामा सडक र नाला निर्माण कार्यको शिलान्यास गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट २५ लाख रुपैयाँको लागतमा १३२ मिटर सडक र १०७ मिटर नाला निर्माण हुन लागेको हो।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री जयसवाल सरकारले तराई-मधेसका आदिवासी, जनजाति, मधेसी र सीमान्तकृत समुदायको विकासका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए। उनले आफ्नो पहलमा यस क्षेत्रका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिए। साथै, उनले इमान्दारीपूर्वक काम गरेमा आगामी वर्ष थप बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री जयसवाल तराई-मधेसमा विकासको ठूलो आवश्यकता रहेको उल्लेख गर्दै नेपालमा सीमापारिका छिमेकी मुलुकभन्दा बढी विकासको चाहना रहेको बताए। उनले यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने योजना सरकारको प्राथमिकतामा रहेको जानकारी पनि दिए।
पोखरीया नगरपालिकाका मेयर प्रधुमन् चौहानले नगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयबाट बजेट विनियोजन गराउन मन्त्री जयसवाल सँग आग्रह गरे। शिलान्यासको क्रममा पोखरिया नगरपालिकाका उपप्रमुख रुबी ठाकुर, पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी, त्यही वार्डका वडा अध्यक्ष, लगायत आम जनता नगरवासी को उपस्थितिमा शिलान्यास भएका छन्।