spot_img

सशस्त्र प्रहरीकै मिलेमतोमा भिस्वा नाकाबाट खुलेआम तस्करी

वीरगंज — सिमावर्ती क्षेत्रहरूबाट तस्करी हुनु कुनै नयाँ विषय होइन। यस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्न नेपाल सरकारले सिमा क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै आएको छ। तस्करी नियन्त्रण मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको भए पनि पर्सा जिल्लामा भने सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको छ।

पर्साको पश्चिमी ग्रामीण क्षेत्र अन्तर्गत पर्ने भिस्वा नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको हो। सशस्त्र प्रहरी बल बञ्जारी भिस्वाका विओपी प्रमुख प्रहरी निरीक्षक नारायण कार्की आएपछि उक्त नाकाबाट व्यापक रूपमा तस्करी बढेको स्थानीयवासीहरू बताउँछन्। उनी आएयता ठूलो आर्थिक चलखेलबीच तस्करहरूलाई छुट दिइएको र खुला रूपमा तस्करी भइरहेकाले राज्यसंयन्त्रप्रति नै प्रश्न उठेको छ।

केही समयअघि नेपालबाट चाइनिज लसुन तस्करीमार्फत भारतको सिकटा पुर्‍याइएपछि भिस्वा नाकाबाट तस्करी केही समयका लागि बन्द भएको थियो। तर प्रहरी निरीक्षक कार्की आएसँगै तस्करी पुनः सुरु भएको छ। उनी स्वयं तस्करहरूसँग भेटघाट गरी तस्करी गर्न प्रोत्साहन दिने गरेको एक स्थानीय तस्करको भनाइ छ।

भारतको सिकटा बजारबाट लत्ता कपडा, हार्डवेयर, इलेक्ट्रोनिक सामान, मिठाइ र किराना सामग्रीहरू भिस्वा नाकाबाट नेपाल भित्र्याइन्छ। त्यसैगरी नेपालबाट गोल्ड स्टार जुत्ता, युनिलिभर लिमिटेडका कस्मेटिक सामग्री, चाइनिज स्याउ लगायतका सामानहरू भारततर्फ तस्करी भइरहेको छ।

सशस्त्र प्रहरीकै मिलेमतोमा भइरहेको यस्तो खुला तस्करीप्रति सम्बन्धित निकायले तत्काल ध्यान नदिने हो भने सुरक्षाकर्मीप्रति जनविश्वास थप कमजोर बन्ने खतरा देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img