बीरगंज-होली पर्व नजिकिएसँगै पर्साको सदरमुकाम बीरगंजमा ट्राफिक प्रहरीले चेकिङलाई तिव्र बनाएको देखिन्छ। कतै सरप्राइज चेकिङ राखिँदै छ भने कतै छड्के चेकिङ गर्दै सवारी चालकलाई नियमन गर्ने प्रयास भइरहेको छ। बाहिरबाट हेर्दा ट्राफिकको सक्रियता प्रभावकारी देखिए पनि व्यवहारमा भने यसको उद्देश्यप्रति गम्भीर शंका उत्पन्न हुन थालेको छ। चेकिङको नाममा अनावश्यक रकम असुली भइरहेको गुनासो बढ्दै गएको छ, जसले ट्राफिक व्यवस्थापनको वास्तविक उद्देश्यलाई नै ओझेलमा पार्ने खतरा बढाएको छ।
यसबीच, भारतीय गाडीको चहलपहल ग्रामीण क्षेत्रमा तीव्र रूपमा बढेको देखिन्छ। बिना इन्ट्री र भन्सार प्रक्रिया पूरा नगरी भारतीय गाडी पर्साका विभिन्न ग्रामीण क्षेत्रमा निर्धक्क घुमिरहेको अवस्था छ। स्थानीय स्रोतका अनुसार, ट्राफिक प्रहरीले नेपाली सवारी साधनमा कडाइ गरे पनि भारतीय गाडीलाई भने सहज रूपमा छोड्ने गरेको पाइन्छ। ट्राफिक चेकिङका कारण आम नेपाली सवारी चालकहरू कडाइको सामना गरिरहेका छन्, तर भारतीय नम्बर प्लेट भएका गाडीहरू बिना कुनै रोकटोक आउजाउ गरिरहेका छन्।
गोप्य स्रोतका अनुसार, ट्राफिक चेकिङको वास्तविक उद्देश्य सडक सुरक्षाभन्दा बढी मासिक असुलीमा केन्द्रित देखिन्छ। ट्राफिक प्रहरीले चेकिङको नाममा साना सवारी साधनका चालकहरूलाई दुःख दिने तर बिना भन्सार आएका भारतीय गाडीलाई नजरअन्दाज गर्ने गरेको पाइएको छ। यसले नेपालको राजस्व प्रणालीलाई कमजोर बनाउँदै गएको छ भने सवारी नियम कार्यान्वयनमा पनि दोहोरो मापदण्ड अपनाइएको स्पष्ट देखिन्छ।
सरकारले ट्राफिक प्रहरीको नाममा भइरहेको आर्थिक अनियमितता तथा भारतीय गाडीको अनियन्त्रित प्रवेश नियन्त्रण गर्न ठोस कदम चाल्न आवश्यक छ। यदि समयमा नै प्रभावकारी कदम नचालिए, भने यसले देशको आर्थिक स्रोतमा गम्भीर असर पार्नेछ। साथै, स्थानीय सवारी चालकहरू अझ बढी समस्यामा पर्नेछन्, जसले समग्र ट्राफिक व्यवस्थापनमा नै विकृति ल्याउन सक्छ। कानून सबैका लागि समान हुनुपर्छ भन्ने मान्यतामा आधारित रहेर मात्रै सवारी व्यवस्थापन प्रभावकारी बनाउन सकिन्छ।