पर्सा जिल्ला प्रशासन कार्यालयले रंगहरुको महान् पर्व होलीको अवसरमा समस्त पर्साबासीलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। कार्यालयले होली पर्व उल्लासमय तर मर्यादित रूपमा मनाउन सबैलाई अनुरोध गरेको छ।
प्रशासनका अनुसार होली मनाउने क्रममा इच्छा विपरीत रंग छ्याप्ने, जथाभावी अबिर फाल्ने, हो-हल्ला गर्ने, लोला हान्ने तथा जबरजस्ती अमर्यादित एवं उच्छृंखल व्यवहार प्रदर्शन गर्ने कार्य कानूनी रूपमा निषेधित छन्। यस्ता गतिविधि सामाजिक र सांस्कृतिक मर्यादाविपरीत हुने भएकाले कोही कसैले नगर्न र नगराउन अपिल गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न सबैलाई अनुशासित र व्यवस्थित तरिकाले पर्व मनाउन आग्रह गरेको छ। यदि कसैले जबरजस्ती गैरकानूनी वा अमर्यादित व्यवहार गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
त्यस्तै, सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउनु कानूनी रूपमा अनुमति नदिइएको प्रशासनले स्पष्ट पारेको छ। सार्वजनिक स्थानमा अनावश्यक हुलदंगा र ध्वनि प्रदूषण नगर्नु नगराउनु हुन अनुरोध गर्दै, उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
होली पर्वलाई मर्यादित, शान्तिपूर्ण र उल्लासमय बनाउन सबै नागरिकको सहयोग आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साले सम्पूर्ण नागरिकलाई संयमित रूपमा होली मनाउन आह्वान गरेको छ