[ad_1]

१३ चैत, जनकपुरधाम। मधेश केन्द्रित साना चार दल मिलेर लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् ।

तराई-मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार जनकपुरधाममा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चा गठन भएको घोषणा गरेको हो। उक्त मोर्चाले ११ बुँदे साझा अवधारणा-पत्र पनि सार्वजनिक गरेको छ ।

तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश आन्दोलनका मुद्दाहरूमाथि केन्द्रित रहेर सामसामयिक विषयहरूमा मधेशको सही प्रतिनिधित्व गर्ने दाबी गरे ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेसको मुद्दामा विश्वास गर्ने सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु आवश्यक रहेको बताए । ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुरले समावेशितामाथि जोड दिए ।

अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिवद्धता व्यक्त गर्दै विभिन्न षडयन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेशी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ ।

पहिचानमा आधारित रही प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मान, स्थानीय र प्रादेशिक तर्फको संघीय संसदको सदन राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिका लगायतका विषयमा संविधान संशोधनको माग गरेको छ ।

स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गर्दै मोर्चाले युवाहरूको निमित्त स्वदेशमै रोजगार, कृषि क्षेत्रको प्रतिफलमूलक सुधारलाई अवधारणा-पत्र मार्फत आफ्नो मागमा समेटेको छ ।

दुबै सदनबाट दुई पटक पारित भई गत भदौ २० गते राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन कानुन बनेर समस्या समाधान गर्नु पर्ने अवधारणा पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय